भोटेकोशी विपत्तिमा बैंकिङ क्षेत्र एकढिक्का, प्रभावितलाई पुनरुत्थानसम्म साथ दिने घोषणा

काठमाडौँ । भदौ १० गते बुधबार भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गहिरो दुःख व्यक्त गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दैै प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानमा सम्पूर्ण बैंकिङ क्षेत्र एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
सिबिफिनले बाढीमा परी ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै विपद्को कठिन घडीमा उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण निकाय र व्यक्तिप्रति उच्च सम्मानसमेत व्यक्त गरेको छ।
भोटेकोशी बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा ठूलो क्षति पुर्याएको सिबिफिनले जनाएको छ। प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने उसको आकलन छ।
सिबिफिनका अनुसार अहिलेको अवस्थामा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा बैंक तथा वित्तीय संस्थाहरूको पहिलो प्राथमिकतामा रहेको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेका छन्।
बाढीबाट वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण गर्नुका साथै व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि उपयुक्त सहयोग उपलब्ध गराउन सिबिफिनले आफ्ना सदस्य संस्थाका सञ्चालक समितिमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको छ। यसका साथै नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रभावित क्षेत्र र ऋणीलाई आवश्यक पर्ने उपयुक्त नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत सिबिफिन प्रयासरत रहने बताएको छ।
राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग हातेमालो गर्दै आवश्यक सहयोग गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ।
प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारले चालेका हरेक कदममा हातेमालो गर्दै एकताबद्ध भएर परिचालित हुन सिबिफिनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई हार्दिक अपीलसमेत गरेको छ।









