भित्रभित्रै खोक्रो बन्दै गएको हिमालयन बैंक सुधार्न नसकेपछि अध्यक्ष श्रेष्ठले दिए राजीनामा

११ भाद्र २०८३, बिहीबार १७:३१

काठमाडौं । हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र व्यवस्थापन पक्षबीच चल्दै आएको मतभेद अन्ततः राजीनामासम्म पुगेको छ। बैंकको व्यवस्थापन सुधार तथा सञ्चालनका विषयमा अध्यक्ष र व्यवस्थापन पक्षबीच पटक–पटक मतभेद हुँदै आएको र कतिपय बोर्ड बैठकसमेत निष्कर्षमा नपुगी स्थगित हुने गरेको बताइएको छ।

बैंकलाई सुधारको बाटोमा लैजान व्यवस्थापन पक्षबाट अपेक्षित काम हुन नसकेको तथा बैंकको वित्तीय अवस्था र प्रतिवेदनसमेत कमजोर बन्दै गएको भन्दै अध्यक्ष श्रेष्ठले राजीनामा दिएको बुझिएको छ। बैंक सुधारका लागि अध्यक्षको मात्रै भूमिकाले सम्भव नहुने निष्कर्षमा पुगेपछि उनले पदबाट राजीनामा दिएको स्रोतको दाबी छ।

अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बुधबार कार्यालयमा उपस्थित नभई कुनै सञ्चालकलाई समेत पूर्वजानकारी नदिई इमेलमार्फत राजीनामा पत्र पठाएको बताइएको छ। केही समयअघि उनले बैंकको अवस्था भित्रभित्रै कमजोर बन्दै गएको तर बाहिर भने प्रगति देखाउने प्रवृत्ति रहेको भन्दै भविष्यमा बैंक आपत्कालीन अवस्थामा पुग्न सक्ने चेतावनीसमेत दिएका थिए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि खुलेको पहिलो बैंकका रूपमा हिमालयन बैंकलाई लिइन्छ। बैंक २०४९ सालमा स्थापना हुँदा तत्कालीन प्रवर्तक पृथ्वीबहादुर पाँडेले श्रेष्ठलाई साझेदारका रूपमा भित्र्याएका थिए। त्यसबेला श्रेष्ठलाई १२।७७ प्रतिशत सेयर हिस्सा दिइएको थियो। पछि पाँडेले आफूसँग रहेको थप ८।९४ प्रतिशत सेयरसमेत श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। त्यसपछि श्रेष्ठ परिवारको नाममा बैंकमा करिब २१।७१ प्रतिशत सेयर स्वामित्व रहेको बताइएको छ।

स्थापनाकालदेखिका लगानीकर्ता रहेका श्रेष्ठको बैंकमा उल्लेख्य सेयर स्वामित्व छ। उनको राजीनामाबारे इमेलमार्फत जानकारी प्राप्त भएपछि व्यवस्थापन पक्षले तत्कालै स्वीकृत गरेको बुझिएको छ।

बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको पछिल्लो वित्तीय विवरणले समेत देखाएको छ। गत आर्थिक वर्षमा बैंकको मुनाफा घटेर जम्मा १२ करोड ९७ लाख २६ हजार रुपैयाँमा सीमित भएको थियो। त्यसपछि बैंकको अवस्था सुधार गर्न दबाब बढ्दै गए पनि आर्थिक वर्ष २०८२र८३ मा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक हुन पुगेको बताइएको छ।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि बैंकको अवस्था थप कमजोर देखिएसँगै अध्यक्ष श्रेष्ठमाथि व्यवस्थापन सुधारको दबाब बढेको थियो। यहीबीच बुधबार उनले हिमालयन बैंकको सञ्चालक समितिबाट औपचारिक रूपमा राजीनामा दिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*