हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोग प्रकरणः अमित मोर थुनामा, तीन जना धरौटीमा रिहा

१९ भाद्र २०८३, शुक्रबार ०८:३२

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको कोष दुरुपयोग गरी शेयर कारोबारमा लगानी गरेको आरोपमा दायर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले एक जना प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ भने तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक अमित मोरलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा संस्थाको रकम व्यक्तिगत प्रयोजन तथा अन्य व्यक्तिको लाभका लागि प्रयोग गरेको आरोपमा उनलाई थुनामा राख्नुपर्ने देखिएको जनाएको छ।

अदालतले राजीव मोरसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन कार्यकारी निर्देशक दीपक कुमार श्रेष्ठसँग ५० लाख रुपैयाँ र हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमेर शमशेर जबरासँग २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। तोकिएको धरौटी बुझाए उनीहरू तारिखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन्। धरौटी बुझाउन नसके कारागार चलान हुने अदालतको आदेश छ।

सरकारी वकीलका अनुसार हिमालयन रि–इन्स्योरेन्स तथा हिमालयन लार्ज क्याप फण्डको रकम ब्रोकर नम्बर ५४ अर्थात् भृकुटी स्टक ब्रोकिङमार्फत अन्य व्यक्तिको नाममा शेयर खरिद गर्न प्रयोग गरिएको थियो। संस्थाको कोषलाई व्यक्तिगत तथा अन्य व्यक्तिको लाभमा प्रयोग गरी बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लंघन गरेको आरोप प्रतिवादीमाथि लगाइएको छ।

अदालतमा बयानका क्रममा प्रतिवादीहरूले भने आफूहरू निर्दोष रहेको दाबी गरेका थिए। उनीहरूले संस्थागत निर्णय र लगानी समितिको निर्णयअनुसार नै शेयर कारोबारका लागि रकम परिचालन गरिएको जिकिर गरेका थिए। तर अदालतले मिसिलमा संलग्न कागजात, रकम भुक्तानीको प्रक्रिया र अन्य प्रमाणको अध्ययनपछि प्रतिवादीहरूको संलग्नता देखिएको भन्दै अमित मोरलाई थुनामा पठाउने र अन्य तीन जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो।

अमित मोरलाई थुनामा पठाउने विषयमा न्यायाधीश हेमन्त रावलले भने फरक राय दिएका छन्। उनले मोरलाई पनि १ करोड रुपैयाँ धरौटी माग गरी तारिखमा राख्नुपर्ने राय प्रस्तुत गरेका थिए। तर बहुमत सदस्यको निर्णयअनुसार मोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश कार्यान्वयन हुने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*