बेरोजगारी, एआई, सार्वजनिक ऋणमाथि गम्भिर छलफल गर्दै सम्पन्न भयो विश्व बैंक–अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक

थाईल्याण्ड । थाईल्याण्डको बैंककको क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा १२ देखि १८ अक्टोबर २०२६ सम्म आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको संयुक्त बार्षिक बैठक हिजो सम्पन्न भएको छ । रोजगारी सिर्जना, सार्वजनिक ऋणको भार, एआई तथा डिजिटल चोरी र क्षेत्रीय द्वन्द जस्ता चुनौतिहरुमाथि विश्वभरका अर्थमन्त्री तथा गभर्नरहरुको संयुक्त बैठक ऐतिहासिक रुपमा सम्पन्न भएको हो ।
मौद्रिक कार्यमा संलग्न नियामक निकायका अधिकारीहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका प्रतिनिधिहरु, विज्ञहरु तथा नागरिक समाजका प्रतिनिधिहरु समेत गरी कूल १९१ देशका १५ हजार भन्दा बढि सहभागीहरुले विभिन्न सत्रहरुमा गहन छलफल तथा र विचार विमर्शहरु आदान गरेका छन् ।
यस पटकको बैठकमा आर्थिक बृद्धिदरमाथि उत्पन्न विभिन्न चुनौतिहरुमाथि गहन छलफलदेखि रचनात्मक आलोचनाहरु समेत भएका छन् । सबैभन्दा चर्चा रहेको बिषय बन्यो बैंकक ब्लूप्रिन्ट । थाईल्याण्डले विश्व बैंकसँगको सहकार्यमा बैंकक ब्लूट प्रिन्ट सार्वजनिक गरेको छ । मुख्यरुपमा सुरक्षित र समावेशी वित्तका लागि विकासशिल देशहरुले डिजिटल कारोबारसँग सुरक्षामा कसरी ध्यान दिने भन्ने बिषयलाई ब्लूप्रिन्टमा समावशे गरिएको छ । यसभित्र साईबर ठगी, नियामक र वित्तीय संस्था तथा निजि क्षेत्रका बीचको सहकार्यको आवश्यकता, वित्तीय तथा पूर्वाधार तयारीबारेका रणनीतिहरु समावेश छन् ।
दोस्रो महत्वपूर्ण सार्वजनिक ऋण व्यवस्थापनको बढ्दो भारमाथि गहन छलफल भएको छ । राजश्व परिचालन र वित्तिय अनुशासनमा कसरी जोड दिन लगाउने भन्ने सम्बन्धमा गहन छलफल भएको छ ।
त्यसैगरी, विकासशील देशहरुमा हरित वित्तको प्रवाह बृद्धि गर्ने सम्बन्धमा र जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण सम्बन्धमा पनि छलफल भएको छ । यद्यपि यो छलफलबाट नेपालले तत्कालै केही पाउने सम्भावना छैन । यस पटकको बैठकको अर्को एजेण्डा साना उद्योगहरुको संरक्षणका लागि वित्तीय पहुँच सुधार गर्न केही रणनीतिहरु अवलम्वन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
रोजगारी बृद्धि गर्ने तथा गराउने र न्यून आय भएका देशहरुका युवा जनतालाई कसरी आय बृद्धि गर्न सकिन्छ भन्नेबारेमा पनि गहन छलफल भएको छ । बैठकमा हाल क्षेत्रीय रुपमा जारी द्वन्द तथा पारवाहनमा भइरहेको अबरोधले गरिब राष्ट्रहरुमा पुग्नसक्ने क्षतिमाथि पनि छलफल भएको छ ।
कार्यक्रमको अन्त्यमा, थाईल्याण्डका उपप्रधानमन्त्री तथा अर्थमन्त्री एकनिती नितिथानप्रास, अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाले बैठकहरूलाई सफल बनाउन मद्दत गर्ने सबैलाई हार्दिक कृतज्ञता व्यक्त गरे । आईएमएफकी निर्देशक जर्जिएभाले थाईल्याण्डको स्थानीय आयोजक टोली र २०२६ को अन्तर्राष्ट्रिय मुद्राकोष–विश्व बैंक समूहको वार्षिक बैठकको सफल तयारी र वितरणमा योगदान पुर्याउने सबैको लागि सचिवालय धन्यवाद स्वागत कार्यक्रम आयोजना गरेको अवसरमा थाइल्याण्डप्रति प्रशंसा पनि गर्दै भनिन, ‘३८ बर्ष अघि हामीले यस्तै बैठक थाईल्याण्डमै गरेका थियौं, अहिले हेर्दा थाईल्याण्डले धेरै कुरामा परिवर्तन भइसकेको छ तर एउटा कुरा उही छ, त्यो हो, अतिथी सत्कार गर्ने शैली ।’











