बीमा कसुरमा झुनझुनवालाको बयान : ‘कारोबारको जिम्मा व्यवस्थापनको हो, मेरो होइन’

२७ आश्विन २०८३, मंगलवार १८:४७

काठमाडौँ ।  बीमा कसुरमा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादी सुवासकुमार झुनझुनवालाले आफू कम्पनीको दैनिक व्यवस्थापनमा संलग्न नरहेको र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई २३ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरिएको विषयमा जानकारी नभएको बयान दिएका छन् ।

झुनझुनवालाले बीमकको सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहने कानुनी व्यवस्थाबारे आफू जानकार रहेको बताएका छन् । कम्पनीको सञ्चालक समितिले शेयरधनी र बीमितको हित संरक्षण गर्ने भए पनि हिमालयन रिइन्स्योरेन्स, एलियण्ट ब्रोकर्स प्रालि तथा विभिन्न जीवन बीमा कम्पनीले गरेका कारोबारको सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापनको हुने उनको जिकिर छ । आफू व्यवस्थापनमा संलग्न नरहेको उनले बयानमा उल्लेख गरेका छन् ।

अन्तिम हिताधिकारी दीपक भट्ट रहने गरी स्थापित एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई हुँदै नभएको जीवन बीमा पुनर्बिमा कम्पनीको कारोबारको कमिसन शीर्षकमा २३ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरिएको विषयमा आफूलाई जानकारी नभएको झुनझुनवालाको भनाइ छ । सम्बन्धित बीमा कम्पनीहरूले एलियण्टसँग कुनै कारोबार वा पुनर्बिमासम्बन्धी काम नभएको बताइसकेको अवस्थामा ब्रोकेज कमिसन किन र कुन आधारमा भुक्तानी तथा लेखांकन गरियो भन्ने विषयमा समेत आफूलाई थाहा नभएको उनले बताएका छन् ।

सुवासकुमार झुनझुनवालाको बयान

म बीमकको सम्पूर्ण काम, कर्तव्य तथा अधिकार सञ्चालक समितिमा निहित रहने कानुनी व्यवस्था बारे जानकार छु । कम्पनीको सञ्चालक समितिले आफ्नो शेयरधन तथा बीमितको संरक्षण गर्ने हो । हिमालयन रिईन्स्योरेन्स र एलियण्ट ब्रोकर्स प्रा.लि. र उल्लेखित विभिन्न जीवन बीमा कम्पनीले गरेका कारोबारको सन्दर्भमा सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारी तथा व्यवस्थापनको हो । म सो व्यवस्थापनमा संलग्न नरहेको जानकारी गराउँछु । अन्तिम हिताधिकारी दिपक भट्ट रहने गरी स्थापित एलियण्ट इन्स्योन्स ब्रोकर्स प्रा.लि. लाई हुँदै नभएको जीवन बीमा पुनर्बिमा कम्पनीको कारोबारको कमिशन शीर्षकमा रु. २३ करोड ९२ लाख भुक्तानी गरिएको विषयमा मलाई जानकारी थिएन । सम्बन्धित बीमा कम्पनीहरुले एलियण्टसँग कुनै कारोबार तथा पुनर्बिमा सम्बन्धी कुनै कार्य नभएको भनीसकेको अवस्थामा उल्लेखित बीमा कम्पनीहरुले व्रोकेज कमिशन दिएको तथा लेखांकन तथा भुक्तानी कुन आधारमा गरेको हो मलाई थाहा छैन । स्वतन्त्र सञ्चालकको पदमा मैले काम गरेको त्यहाँको दैनिक काममा मेरो कुनै सम्बन्ध थिएन । मैले एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रा.लि. तथा यसको अन्तिम हिताधिकारी दिपक भट्टलाई आर्थिक लाभ पुऱ्याउने उद्देश्यले कुनै काम गरेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*