वैकल्पिक मार्गबाट काठमाडौं भित्रियो ८७ हजार सिलिन्डर ग्यास

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ ।
नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका विभिन्न उद्योगका ग्यास सिलिन्डर तराईका जिल्लामा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ ।
निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका १६ वटा ग्यास उद्योगमा काठमाडौंका सिलिन्डर रिफिल गरिएको हो । भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर रिफिल गरिएको निगमले जनाएको छ ।
यसरी तीन दिनमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरी काठमाडौं भित्र्याइएको छ । वैकल्पिक व्यवस्थामार्फत श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति भइरहेको निगमले जनाएको छ ।
कृष्णभिर खण्डको सडक मर्मत सम्पन्न भई पृथ्वीराजमार्ग नियमित रूपमा सञ्चालनमा नआउञ्जेल वैकल्पिक प्रक्रियाबाटै एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने निगमको भनाइ छ । यसबाट सडक अवरुद्धताका कारण काठमाडौंमा ग्यास आपूर्ति प्रभावित हुन नदिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।









