‘निजीक्षेत्रमैत्री वातावरण बनाऔँ, लगानी निरुत्साहित नगरौँ’

२१ भाद्र २०८३, आईतवार १४:४५

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजीक्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत स्थायित्व र निजीक्षेत्रमैत्री वातावरण आवश्यक रहेकोमा जोड दिए । निजीक्षेत्रमाथि अत्यधिक नियमन र नियन्त्रण गर्ने सोचले लगानी निरुत्साहित हुने भन्दै उनले सरकार नियामकसँगै सहजीकरण गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताए ।

लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि सरकारले चाहे सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सक्ने उनको सुझाव थियो । देशमा उपलब्ध जनसांख्यिकीय लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्न सके युवालाई रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सकिने उनले बताए ।

हतारमा कानुन निर्माण गर्ने प्रवृत्तिले निजीक्षेत्रलाई समस्या पारिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले कानुन तथा नीति निर्माणका क्रममा निजीक्षेत्रसँग पर्याप्त छलफल र परामर्श गर्नुपर्नेमा जोड दिए । निजीक्षेत्रका सुझाव र सरोकारलाई सम्बोधन गर्दै नीति निर्माण गरिएमा मात्रै लगानीको वातावरण थप सहज बन्ने उनको भनाइ थियो ।

महासंघले एकीकृत कर कानुनका लागि कर संहिता निर्माणमा पहल गरिरहेको जानकारी दिँदै उनले उधारो कारोबारसम्बन्धी कानुनको मस्यौदा पनि तयार गरी छिट्टै सरकारलाई बुझाउने तयारी भइरहेको बताए ।

अध्यक्ष श्रेष्ठले पछिल्लो समय मुलुकले हरेक वर्ष कुनै न कुनै विषम प्राकृतिक परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै अब पूर्वाधार निर्माणदेखि विपत् व्यवस्थापनसम्म फरक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्बाट ठूलो जनधनको क्षति भइरहेको अवस्थामा पूर्वाधार निर्माण गर्दा दीर्घकालीन जोखिमलाई ध्यान दिनुपर्ने उनले बताए ।

विपत्का बेला उद्धार र राहतसँगै प्रभावित परिवार तथा उद्योग–व्यवसायको पुनःस्थापना र पुनर्निर्माणमा समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । ‘विपत्का बेला उद्धार सरकारले गर्ने हो, साथ निजीक्षेत्रको रहन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*