रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा बढ्यो चहलपहल, भन्सार–क्वारेन्टाइनमा थपिँदै कर्मचारी

२२ भाद्र २०८३, सोमबार ११:५१

काठमाडौँ । रसुवागढी–केरुङ नाका बन्द भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा विकसित हुँदै गएको मुस्ताङको कोरला नाकामा भन्सार तथा क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन कर्मचारी थपिने भएको छ।

लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका लागि भन्सार विभागले छ जना कर्मचारी काजमा पठाउने तयारी गरेको छ। विभागले तीन जना अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी खटाउने तयारी गरेको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कर्मचारी खटाउने तयारी पूरा भइसके पनि लगातारको बिदाका कारण उनीहरू कार्यस्थलमा पुग्न केही ढिलाइ भएको छ। कार्यालय खुल्ने दिन नै खटाइएका कर्मचारीलाई रवाना दिएर कार्यस्थलमा पठाइनेछ।

मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना मात्रै कार्यरत छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि रोकिएका मालवस्तु कोरला नाकातर्फ पठाउन थालिएकाले भन्सार कार्यालयमा दरबन्दीअनुसार जनशक्ति थप गर्न लागिएको हो।

रसुवागढी–केरुङसँगै तातोपानी नाका पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको अवस्थामा कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ। पछिल्लो समय रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट मालवस्तु पैठारीका लागि दैनिक ५० भन्दा बढी कन्टेनर आउन थालेका छन्।

मालवस्तु तथा फलफूल बोकेका सयौँ कन्टेनर कोरला नाकातर्फ पठाइएपछि न्हेचुङमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई समेत सक्रिय बनाउन थालिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारी मुस्ताङ पठाइसकेको छ।

न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार क्वारेन्टाइनका लागि तीन जना कर्मचारी जोमसोम आइपुगेका छन्। केन्द्रले भन्सार विभागसँगको समन्वयमा वरिष्ठ बाली संरक्षण अधिकृत र कम्प्युटर अपरेटरसहितका कर्मचारी काजमा पठाएको हो।

रसुवागढी–केरुङ नाकाबाट कोरला नाकातर्फ पठाइएका कन्टेनरमा रहेका फलफूलको क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएकाले जनशक्ति थप गरिएको हो। यसअघि पर्याप्त जनशक्ति नहुँदा क्वारेन्टाइन परीक्षण तथा कार्यालय सञ्चालनमा समस्या हुँदै आएको थियो।

न्हेचुङमा क्वारेन्टाइन कार्यालय विसं २०६२/६३ मा स्थापना भएको हो। कार्यालयमा पाँच जनाको दरबन्दी रहे पनि लामो समयदेखि एक जना प्राविधिक सहायक मात्रै कार्यरत थिए। आवश्यक जनशक्ति र क्वारेन्टाइन परीक्षणका लागि चाहिने उपकरणको अभावमा कार्यालय प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन।

कोरला नाकामा मालवस्तुको चाप बढेसँगै भन्सार र क्वारेन्टाइन कार्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने अवस्था आएको छ। कर्मचारी थपिए पनि न्हेचुङमा आवास तथा आवश्यक भौतिक पूर्वाधारको अभाव भने व्यवस्थापनका लागि चुनौती बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*