ग्यासको हाहाकारमा काठमाडौं, निभ्न थाले चुलो : सरकारको आपूर्ति संयन्त्र कहाँ चुक्यो ?

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ । धादिङको कृष्णभीरमा पहिरो खसेर सडक ठप्प भएपछि राजधानीको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न थालेको छ । तर सडक अवरोधको असर देखिन थालेको आठ दिन बितिसक्दा पनि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने भरपर्दो वैकल्पिक व्यवस्था गर्न नसक्दा काठमाडौंमा खाना पकाउने ग्यासको अभाव झन् गहिरिएको छ ।
ग्यासका लागि उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था नयाँ होइन । पछिल्ला दुई महिनादेखि नै काठमाडौं उपत्यकाका विभिन्न बिक्री केन्द्रमा ग्यासका लागि लामो लाइन देखिँदै आएको छ । अहिले त्यसै समस्यामाथि पृथ्वी राजमार्गको अवरोध थपिएपछि अवस्था झन् भयावह बनेको हो । ग्यासको माग बढेको छ, मूल्यसमेत बढेको छ, उपभोक्ता बढी मूल्य तिर्न तयार छन्, तर पैसा तिरेर पनि सहज रूपमा ग्यास पाउने अवस्था छैन । कतिपय उपभोक्ता ग्यास पाइने आशामा मध्यरातमै बिक्री केन्द्र पुगेर लाइन बस्न बाध्य छन् ।

नयाँसडकस्थित धर्मपथ क्षेत्रलगायत काठमाडौंका विभिन्न स्थानमा ग्यास बिक्री केन्द्रअगाडि देखिएको भीडले राजधानीको आपूर्ति अवस्थाको वास्तविक तस्वीर देखाइरहेको छ । घरमा खाना पकाउन आवश्यक ग्यासका लागि नागरिक घण्टौँ लाइनमा उभिनुपर्ने, कहिले ग्यास आउने हो भन्ने निश्चित नहुने र आएको ग्यास पनि सबैले नपाउने अवस्थाले सरकारको आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
अझ विडम्बना के छ भने अहिलेको ग्यास अभावलाई केवल पृथ्वी राजमार्ग अवरुद्ध भएको कारण देखाएर पन्छिन सकिने अवस्था छैन । राजमार्ग बन्द हुनुअघि नै ग्यासको समस्या दुई महिनादेखि कायम थियो । अर्थात् बाढी र पहिरोले विद्यमान समस्यालाई थप गम्भीर बनाएको हो । प्राकृतिक विपत्तिले सडक अवरुद्ध पार्न सक्छ, तर त्यस्तो अवस्थामा वैकल्पिक आपूर्ति मार्ग खोज्ने, पर्याप्त मौज्दात राख्ने, अत्यावश्यक वस्तुको वितरणलाई प्राथमिकता दिने र संकट आउनुअघि नै तयारी गर्ने जिम्मेवारी सरकारकै हो ।
तर अहिलेको अवस्थाले सरकारसँग त्यस्तो संकट व्यवस्थापनको प्रभावकारी योजना नरहेको देखाएको छ । एउटा प्रमुख राजमार्ग बन्द हुँदा राजधानीको ग्यास आपूर्ति नै प्रभावित हुने अवस्था आउनुले नेपालको आपूर्ति प्रणाली कति कमजोर र एकै मार्गमा निर्भर छ भन्ने देखाएको छ ।









