शेयर बजारमा फर्किँदै सकारात्मक संकेत, सरकारको सुधार प्याकेजले जगाउँदैछ नयाँ आशा

२२ भाद्र २०८३, सोमबार १५:०४

काठमाडौँ । शेयर बजारमा लगातार चौथो दिन सुधार देखिएको छ । बजारमा झिनो अंकको वृद्धि भए पनि पछिल्ला दिनको निरन्तर सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत देखाएको छ । यद्यपि कारोबार रकममा अपेक्षित उत्साह नफर्किएकाले लगानीकर्ताहरू अझै पनि ‘पर्ख र हेर’को रणनीतिमा रहेको देखिन्छ । बजारले सुधारको बाटो समाते पनि लगानीकर्ताले जोखिम मूल्यांकन गरेर मात्रै निर्णय लिइरहेका छन् ।

रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिले भने बजारको चिन्ता कायमै राखेको छ । विद्युत्गृह, बाँध, सुरुङ, पहुँचमार्ग तथा प्रसारण लाइनमा भएको क्षतिका कारण केही आयोजनाको उत्पादन अवरुद्ध हुने, मर्मत तथा पुनर्निर्माण खर्च बढ्ने र आयोजना सञ्चालनमा ढिलाइ हुन सक्ने आकलन छ। यसको प्रभाव कम्पनीको वित्तीय अवस्थामा पर्न सक्ने भए पनि सबै जलविद्युत् कम्पनी समान रूपमा प्रभावित नहुने भएकाले लगानीकर्ताले कम्पनीगत अवस्था हेरेर निर्णय लिन थालेका छन् ।

बाढीको सम्भावित प्रभाव निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म पुग्न सक्ने चिन्ताबीच पनि बजारमा व्यापक बिक्री चाप देखिएको छैन । सम्पत्तिको क्षतिका कारण बीमा दाबी बढ्न सक्ने र त्यसले बीमा कम्पनीको नाफामा असर पार्न सक्ने आकलन भए पनि बजारमा अनिश्चिततासँगै अवसर खोज्ने प्रवृत्ति पनि देखिएको छ । सिआईबीको निगरानी तथा सानो परिमाणमा शेयर खरिद गर्दासमेत छानबिन हुन सक्ने चर्चाले लगानीकर्तालाई थप सतर्क बनाए पनि यसले बजारमा विवेकपूर्ण कारोबारतर्फको संकेत दिएको छ ।

यसैबीच सरकारले पूँजी बजार सुधारका लागि ‘पूँजी बजार सुदृढीकरण तथा शेयर बजार सुधार योजना’ ल्याउने तयारी गरिरहेको छ। अर्थ मन्त्रालयले बजारमा देखिएको निराशा कम गर्दै पूँजी बजारको संरचनागत आधार बलियो बनाउने उद्देश्यसहित योजना तयार गरिरहेको हो। नियमन प्रभावकारी बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने, पारदर्शिता बढाउने र दीर्घकालीन लगानीको वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकता दिइने तयारीले बजारमा सकारात्मक अपेक्षा बढाएको छ। तत्काल कृत्रिम उछाल ल्याउनेभन्दा बजारको आधार बलियो बनाउने सरकारी तयारी र लगातारको सुधारले शेयर बजार क्रमशः स्थिरतातर्फ अघि बढ्ने संकेत देखाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अकंले बढेर २५६०.८४ बिन्दुका कायम भएको छ । आज ३५२ कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा सुधार देखिएको छ । वाणिज्य बैंक समूहको शेयर मूल्य सर्वाधिक बढेको छ भने फाइनान्स समूहको सर्वाधिक घटेको हो ।

सोमबार १९५ कम्पनीको शेयर मूल्य बढेको छ भे ७९ कम्पनीको घटेको छ । यसदिन ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*