नेटटीभीलाई १८ करोड र हिमालयलाई १४ करोड ६४ लाखमा एनपीएल–३ को प्रसारण अधिकार

२२ भाद्र २०८३, सोमबार १५:५७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकारसम्बन्धी बोलपत्र तथा खरिद प्रक्रिया सम्पन्न गरेको छ ।

क्यानले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको तेस्रो संस्करणको ओटीटी अधिकार वर्ल्डवाइड रूपमा नेटटीभी प्रालिले पाएको छ । नेटटीभीले उक्त अधिकारका लागि १८ करोड ४ लाख रुपैयाँ तिर्नेछ ।

त्यस्तै, नेपाल क्षेत्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले पाएको छ । हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा उक्त अधिकार प्राप्त गरेको क्यानले जनाएको छ ।

टिकटिङ अधिकार भने इसेवा लिमिटेडले पाएको छ । यसका लागि इसेवाले क्यानलाई ८५ लाख रुपैयाँ बुझाउनेछ । सहमति भएका व्यावसायिक शर्तअनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले र बाँकी ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन् ।

क्यानले एनपीएलको तेस्रो संस्करणका लागि अधिकार प्राप्त गरेका नेटटीभी, हिमालय टेलिभिजन र इसेवालाई बधाई दिँदै प्रतियोगितालाई थप सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै साझेदारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*