राष्ट्रपति पौडेलको आह्वान : ‘दोषारोपण होइन, राष्ट्रिय एकताको समय हो’

२२ भाद्र २०८३, सोमबार १६:०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले दोषारोपण वा राजनीतिक विवादमा अल्झिने समय नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताए ।

उनले हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोपका रूपमा उल्लेख गरे । उक्त विपत्तिले असङ्ख्य मानव जीवनसँगै घरपरिवार, सडक, पुल, जलविद्युत् आयोजना तथा राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्‍याएको भन्दै उनले गहिरो दुःख व्यक्त गरे । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।

आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको साहस र सेवाभावको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उनीहरूको समर्पणले नेपालको उत्कृष्ट मानवीय चरित्र झल्काएको उनले बताए ।

कठिन भौगोलिक अवस्थाका बाबजुद बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन उनले सरकारको ध्यानाकर्षण गराए । विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकप्रति पनि उनले शोक व्यक्त गर्दै नेपालले आफ्नो भूमिमा रहेका हरेक व्यक्तिलाई परिवारकै सदस्यका रूपमा लिने बताए । प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक समन्वय र सहकार्य गरिने उनले उल्लेख गरे ।

छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले खोज, उद्धार र प्राविधिक सहयोग उपलब्ध गराएकोमा राष्ट्रपति पौडेलले कृतज्ञता व्यक्त गरे । विस्थापित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था गर्न उनले सरकारलाई आग्रह गरे ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले मृतकहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत वैज्ञानिक विधि अपनाउन सुझाव दिए ।

हिमनदी फुट्नु र हिमपहिरो जानुलाई विश्वव्यापी तापक्रम वृद्धिको परिणामसँग जोड्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था यस विपत्तिले उजागर गरेको भन्दै उनले नेपालजस्ता देशका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरे ।

पुनर्निर्माण र पुनर्स्थापनाको प्रक्रियामा जाँदा नेपालको साविकको विकास मोडेलमाथि पुनर्विचार गर्न आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताए । विगतका भूकम्प र महामारीमा जस्तै यसपटक पनि नेपाली जनताले धैर्य र साहसका साथ परिस्थितिको सामना गर्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय पुनरुत्थानका लागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*