भोटेकोशी बाढीपीडितका लागि भक्तपुर नगरपालिकाद्वारा ७५ लाख ७१ हजार आर्थिक सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ७५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाद्वारा सञ्चालित विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाले संयुक्त रूपमा ७५ लाख ७१ हजार ६७९ रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग रकममध्ये भक्तपुर नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ, नगरपालिकाका स्थायी तथा करार कर्मचारीबाट १७ लाख ७९ हजार ९८७ रुपैयाँ, सफाइ ठेकेदार तथा ज्यालादारीतर्फबाट १ लाख ६८ हजार ५३१ रुपैयाँ र जनप्रतिनिधिको तर्फबाट १ लाख रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट १७ हजार ५७२ रुपैयाँ सहयोग गरिएको छ ।
नगरपालिकाअन्तर्गत सञ्चालित संस्थाहरूबाट पनि कोषमा रकम जम्मा गरिएको छ । ख्वप कलेजले १ लाख ९५ हजार ५५६ रुपैयाँ, ख्वप माविले ६ लाख ६२ हजार १६६ रुपैयाँ, ख्वप कलेज अफ लले ४४ हजार ६६ रुपैयाँ, ख्वप इन्जिनियरिङ कलेजले ४ लाख १३ हजार ५०० रुपैयाँ र ख्वप कलेज अफ इन्जिनियरिङले ३ लाख ४४ हजार ९०१ रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी ख्वप बहुप्राविधिक अध्ययन संस्थानले ८३ हजार र ख्वप अस्पतालले ७ लाख ६२ हजार ४०० रुपैयाा प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।
विपद्बाट प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले भक्तपुर नगरपालिकाको २०८३ भदौ १८ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नगरपालिका, जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाअन्तर्गतका विभिन्न संस्थाबाट संकलित रकम कोषमा जम्मा गरिएको हो ।









