शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष निर्वाचित

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन्। संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो।
उनले आफ्ना अन्य तीनजना पुरुष प्रतिस्पर्धीलाई हराउँदै सोमबार सम्पन्न ३६औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। वि.सं. २०७३ सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यको रूपमा जोडिएकी उनी अहिले सोही संस्थाको अध्यक्ष भएकी हुन्।
उनी उक्त संघको कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिव समेत बनिसकेकी थिइन्। संघको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका थिए। अजुर्न पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम गरी चार जना अध्यक्ष पदका लागि मैदानमा उत्रिएका थिए।
निर्वाचनमा उनले ७५१ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत प्राप्त गरेका छन्। यसरी उनले निकटतम प्रतिद्वन्द्वीलाई ११४ मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएकी हुन्। निर्वाचनमा उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरेका थिए। निर्वाचनमा अध्यक्ष तथा पदाधिकारीतर्फ कुल २ हजार २७४ मत खसेको थियो।
२६ वर्षअघि फूटपाथमा चिया पसल खोलेर व्यवसायमा जोडिएकी उनले आज पोखरा उद्योग वाणिज्य संघकै नेतृत्वमा पुगेकी छन्। ४६ वर्षीया गौतमले चिया पसलबाट ब्युटिपार्लर हुँदै पुष्पाञ्जली फेसन एण्ड इभन्ट कम्पनी खोलेर इभन्ट आयोजना समेत गरेकी थिइन्। पछि उनले सुप्रिम सप्लायर्स सञ्चालन गरेर अधिकृत बिक्रेता पनि बनिन् भने पुष्पाञ्जली रेस्टुराँ समेत खोलेर व्यवसाय सञ्चालन गरेकी थिइन्।









