प्रभु बैंक वित्तीय जोखिमको भुमरीमा: इक्राले घटायो रेटिङ, खराब कर्जा उच्च बिन्दुमा

काठमाडौँ । प्रभु बैंकको वित्तीय अवस्थामा देखिएको तीव्र दबाबसँगै यसको ऋण तथा वित्तीय दायित्व पूरा गर्ने क्षमतासम्बन्धी मूल्यांकन थप कमजोर भएको छ। इक्रा नेपालले बैंकको जारीकर्ता मूल्यांकनलाई ‘बीबी प्लस’बाट घटाएर ‘बीबी’मा कायम गरेको छ। साथै, यसअघि कायम रहेको नकारात्मक प्रभावसहितको निगरानीलाई निरन्तरता दिइएको छ।
बैंकले जारी गरेको एक अर्ब रुपैयाँ बराबरको अधीनस्थ ऋणपत्रको मूल्यांकन पनि ‘एलबीबी प्लस’बाट घटाएर ‘एलबीबी’मा झारिएको छ र त्यसमा पनि नकारात्मक प्रभावसहितको निगरानी जारी राखिएको छ।
इक्रा नेपालका अनुसार ‘बीबी’ मूल्यांकनले वित्तीय दायित्व समयमै पूरा गर्नुपर्ने विषयमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ। अधीनस्थ ऋणपत्रतर्फको ‘एलबीबी’ मूल्यांकनले पनि समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
मूल्यांकन घट्नुको मुख्य कारण प्रभु बैंकको सम्पत्तिको गुणस्तरमा अपेक्षाभन्दा तीव्र र ठूलो गिरावट आउनु तथा त्यसको असर बैंकको प्राथमिक तहको पुँजीमा पर्नु रहेको इक्रा नेपालले जनाएको छ। २०८३ असार मसान्तमा बैंकको प्राथमिक तहको पुँजी अनुपात ८.१७ प्रतिशतमा झरेको छ, जुन नियामकीय न्यूनतम ८.५० प्रतिशतभन्दा तल हो। बैंकको कुल जोखिमभारित सम्पत्तिको तुलनामा पुँजी अनुपात भने ११.८३ प्रतिशत रहेको छ, जुन नियामकीय न्यूनतम ११ प्रतिशतभन्दा माथि छ।
सम्पत्तिको गुणस्तरतर्फ प्रभु बैंकको अवस्था अझ चुनौतीपूर्ण देखिएको छ। २०८३ असार मसान्तसम्म बैंकको कुल निष्क्रिय कर्जा अनुपात १५.५५ प्रतिशत पुगेको छ, जुन बैंकिङ क्षेत्रकै सबैभन्दा उच्च रहेको इक्रा नेपालले जनाएको छ। सोही अवधिमा बैंकिङ क्षेत्रको औसत कुल निष्क्रिय कर्जा अनुपात ५.५६ प्रतिशत थियो। प्रभु बैंकको कुल निष्क्रिय कर्जा अनुपात २०८२ पुस मसान्तमा ७.९४ प्रतिशत रहेकोमा छ महिनामै झण्डै दोब्बर भएको हो।
बैंकको खुद निष्क्रिय कर्जा अनुपात पनि ६.९६ प्रतिशत पुगेको छ। नयाँ निष्क्रिय कर्जामा ठूलो वृद्धि भएको र तीमध्ये धेरै कर्जा तुलनात्मक रूपमा कम प्रावधान भएको तहमा रहेको अनुमान गरिएको छ। यसले बैंकको खुद सम्पत्ति तथा पुँजीमाथि थप दबाब सिर्जना गरेको छ।
निष्क्रिय कर्जाको तुलनामा बैंकको खुद पुँजीको अवस्थासमेत चिन्ताजनक बनेको छ। निष्क्रिय कर्जा र खुद सम्पत्तिको अनुपात करिब ४३.५ प्रतिशत पुगेको छ, जुन २०८२ पुस मसान्तमा करिब १९.१ प्रतिशत मात्र थियो। इक्रा नेपालले यो अनुपात मूल्यांकन गरिएका समकक्षी बैंकमध्ये सबैभन्दा उच्च रहेको जनाएको छ। यसले आगामी दिनमा थप पुँजी परिचालन गर्नुपर्ने सम्भावना र बैंकको आन्तरिक पुँजी निर्माण क्षमतामाथि दबाब बढाएको छ।
सम्पत्तिको गुणस्तरमा आएको गिरावटले बैंकको आम्दानीमा पनि प्रत्यक्ष असर पारेको छ। निष्क्रिय कर्जामा ब्याज नगद प्राप्तिका आधारमा मात्र आम्दानीमा गणना हुने भएकाले बैंकको खुद ब्याज आम्दानी अनुपातमा कमी आएको छ। यससँगै कर्जा जोखिम व्यवस्थापनका लागि बढेको खर्चले २०८३ असार मसान्तसम्म बैंकको नाफासम्बन्धी सूचकहरूलाई नकारात्मक बनाएको छ।
बैंकको नाफामा दबाब बढ्नुको अर्को कारण कर्जा जोखिम व्यवस्थापनका लागि गर्नुपर्ने खर्चमा भएको वृद्धि हो। यसअघि करिब ७५ देखि ८० प्रतिशतसम्म रहेको निष्क्रिय कर्जाको प्रावधान आवरण अहिले करिब ६० प्रतिशतमा झरेको छ। विद्यमान निष्क्रिय कर्जामध्ये थप कर्जा उच्च प्रावधान आवश्यक पर्ने तहमा जाने अवस्था आएमा बैंकको नाफामा थप दबाब पर्न सक्ने इक्रा नेपालको आकलन छ।
प्रभु बैंकको समग्र पुँजीकरण अवस्था पनि कमजोर बनेको छ। २०८३ असार मसान्तमा कुल जोखिमभारित सम्पत्तिको तुलनामा पुँजी अनुपात ११.८३ प्रतिशत र प्राथमिक तहको पुँजी अनुपात ८.१७ प्रतिशत रहेको छ। २०८२ पुस मसान्तमा यी अनुपात क्रमशः १२.३८ प्रतिशत र ८.६८ प्रतिशत थिए। निष्क्रिय कर्जामा आएको तीव्र वृद्धिले पुँजीमा दबाब परेको देखिन्छ। आगामी दिनमा सम्पत्तिको गुणस्तरमा थप गिरावट आए आन्तरिक आम्दानीमा थप असर पर्ने र त्यसले पुँजी अनुपात सुधार गर्ने क्षमतामा समेत दबाब पार्ने इक्रा नेपालले जनाएको छ।
प्राथमिक तहको पुँजी अनुपात नियामकीय सीमाभन्दा तल झरे पनि हालसम्म यसको प्रत्यक्ष वित्तीय प्रभाव सीमित रहेको उल्लेख गरिएको छ। तर यस्तो अवस्थाले स्वदेशी तथा विदेशी स्रोतबाट प्राप्त हुने वित्तीय स्रोतमा असर पार्न सक्ने तथा बैंकको प्रतिष्ठासम्बन्धी जोखिम बढाउन सक्ने विषयलाई इक्रा नेपालले महत्वपूर्ण चासोका रूपमा राखेको छ।
यद्यपि प्रभु बैंकको तरलता अवस्था भने तुलनात्मक रूपमा सहज रहेको छ। २०८३ असार मसान्तमा कुल निक्षेपको तुलनामा खुद तरल सम्पत्तिको अनुपात करिब ४३ प्रतिशत र कर्जाको तुलनामा निक्षेपको अनुपात करिब ६८ प्रतिशत रहेको छ। नियामकीय न्यूनतम तथा अधिकतम सीमा क्रमशः २० प्रतिशत र ९० प्रतिशत रहेकाले बैंकको तरलता अवस्था हाल सहज देखिएको हो।
बैंकको चालु तथा बचत खातामा रहेको निक्षेपको हिस्सा पनि सुधार भएको छ। २०८३ असार मसान्तमा यस्तो निक्षेपको हिस्सा करिब ६२ प्रतिशत पुगेको छ, जबकि बैंकिङ क्षेत्रको औसत करिब ५६ प्रतिशत रहेको थियो। कम लागतको निक्षेपको हिस्सा बढी भएकाले बैंकको निक्षेप लागत पनि तुलनात्मक रूपमा कम रहेको छ। २०८३ असार मसान्तसम्म बैंकको निक्षेप लागत ३.३७ प्रतिशत रहेकोमा बैंकिङ क्षेत्रको औसत ३.४६ प्रतिशत थियो।
प्रभु बैंकसँग सम्बन्धित अघिल्लो मूल्यांकनका क्रममा उठाइएका केही विषय पनि अझै निगरानीमा छन्। बैंकका पूर्ववरिष्ठ व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूमाथि अप्रत्यक्ष रूपमा सम्बन्धित पक्षलाई कर्जा प्रवाह गरिएको आरोपसम्बन्धी अनुसन्धान तथा त्यससँग जोडिएका घटनाक्रमलाई आगामी दिनमा पनि इक्रा नेपालले निगरानी गर्ने जनाएको छ।











