स्वास्थ्य सेवाका पूर्व वरिष्ठ प्रशासकसँग २ करोड गैरकानूनी सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा

४ आश्विन २०८३, आईतवार ०९:२७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा चलाएको छ।

आयोगका अनुसार सापकोटाको नियुक्ति मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० सम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको तथा एकाघर परिवारको आय र खर्चको विश्लेषण गरिएको थियो। अनुसन्धानका क्रममा उक्त अवधिमा सापकोटा तथा परिवारले विभिन्न स्रोतबाट ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ वैधानिक आय गरेको देखिएको छ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा घरजग्गा खरिद, शेयर र सवारीसाधन खरिद, कर्जा भुक्तानी, बीमा, अध्ययन, सुन तथा विद्युतीय उपकरण खरिद, विदेश भ्रमणलगायतमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी भएको आयोगले जनाएको छ।

आयोगका अनुसार कुल वैधानिक आयबाट कुल खर्च तथा लगानी घटाउँदा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको हो। यही रकमलाई आयोगले सापकोटाले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो कायम गरेको छ।

आयोगले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र आयको तुलनामा अस्वाभाविक उच्च जीवनस्तर कायम गरेको आरोप सहित मुद्दा चलाएको छ। साथै स्रोत नखुलेको सम्पत्ति श्रीमती निरजा पण्डितको नाममा समेत खर्च गरेको भेटिएको छ।

आयोगले सापकोटाविरुद्ध बिगोबमोजिम जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। साथै सम्पत्तिको वास्तविक विवरण नदिई लुकाएको आरोपमा थप सजायको मागदाबीसमेत गरिएको छ। सापकोटाकी श्रीमती निरजा पण्डितलाई भने स्रोत नखुलेको र उनको नाममा राखिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*