जनकपुरबाट मेची-महाकाली पदयात्रा गर्दै अमरेश सिंह, ‘समाज जोड्नुपर्छ’ मूल सन्देश

४ आश्विन २०८३, आईतवार १०:४६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशलाई बुझ्ने र देशका विभिन्न भूगोललाई जोड्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् ।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट पदयात्रा सुरु गर्ने जानकारी दिएका हुन् । उनका अनुसार सीताको जन्मभूमि जनकपुरधामस्थित गंगासागरमा छठको पारनका दिन अर्घ्य दिएपछि पदयात्राको सुरुवात हुनेछ ।

उनले आफ्नो पदयात्राको मूल सन्देश ‘समाज जोड्नुपर्छ’ रहेको बताए । राजनीति समाजलाई जोड्ने र मुलुकको समृद्धिका लागि अघि बढ्ने माध्यम बन्नुपर्ने उनको धारणा छ । अबको बाटो पनि एकतामै केन्द्रित हुनुपर्ने उनले बताए ।

सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ‘६ स’ का क्षेत्रमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे । पदयात्राका क्रममा जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, अपेक्षा र सुझाव सुन्ने उनले बताए ।

‘पदयात्रामा जनताको बीचमा गएर उनीहरूका कुरा सुन्छु । आफैं कम बोल्छु, जनताको बढी सुन्छु,’ सिंहले भने । उनका अनुसार यात्राका क्रममा दैनिक करिब पाँच घण्टा पैदल हिँड्ने र सात घण्टासम्म जनताका कुरा सुन्ने योजना छ ।

जनकपुरधामबाट गाग्रोमा माटो र पानी लिएर यात्रा सुरु गर्ने तथा माघेसंक्रान्तिका दिन महाकाली नदीमा जौ र तिल राखेर विसर्जन गर्ने योजना पनि उनले सुनाए । यसमार्फत यात्रालाई सांस्कृतिक र सामाजिक एकताको सन्देशसँग जोड्न खोजिएको उनको भनाइ छ ।

मधेशी जनताको सहयोगबाट बनेको वर्तमान सरकारले भने मधेशलाई अपेक्षित प्राथमिकता नदिएको सिंहले आरोप लगाए । मधेशका मुद्दा र जनताका समस्याप्रति सरकारको ध्यान पर्याप्त नपुगेको उनको दाबी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*