कोशी र बागमतीसहित चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बङ्गालको खाडीको मध्य–पश्चिम भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै डीप डिप्रेसनका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आज मंगलबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै राति कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बङ्गालको खाडीमा विकसित मौसम प्रणाली थप शक्तिशाली हुँदै जाने पूर्वानुमान रहेकाले आगामी दिनमा वर्षाको गतिविधि थप बढ्न सक्ने देखिएको महाशाखाले जनाएको छ।











