बुढीगण्डकीमा आएको बाढीले माथिल्लो माछाखोला जलविद्युत आयोजना बन्द

काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्याएको छ। प्रसारण लाइनमा क्षति पुगेपछि आयोजना पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार असोज २५ गते बिहान बुढीगण्डकी नदीमा अचानक आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेको हो। क्षतिको विस्तृत विवरण अझै प्राप्त नभएकाले मर्मतसम्भारमा लाग्ने समय र आयोजना पुनः सञ्चालन हुने मिति निश्चित भइसकेको छैन। यसले गर्दा आयोजनाको विद्युत् उत्पादन अनिश्चितकालका लागि प्रभावित भएको छ।
हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा आवश्यक जनशक्ति परिचालन, मर्मत सामग्रीको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको मर्मत गर्न थप चुनौती हुन सक्ने कम्पनीले जनाएको छ। यद्यपि क्षतिको विस्तृत मूल्याङ्कन गरी आवश्यक मर्मतसम्भार तथा विद्युत् उत्पादन पुनः सञ्चालनका लागि यथाशीघ्र पहल गरिने कम्पनीले जनाएको छ।











