कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्दै हिम पर्वत हाइड्रोपावर

२६ आश्विन २०८३, सोमबार ०७:५३

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत बराबरको ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।

कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। यसमध्ये १० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको बाँकी २५ प्रतिशत शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दाले १० लाख १४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यी वडाबाहेक बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि ६ लाख ७६ हजार कित्ता शेयर छुट्याइएको छ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन रकम भुक्तानी गर्नुपर्नेछ।

स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन कात्तिक ११ गतेदेखि खुल्नेछ। छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते बैंकिङ समयपछि बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कात्तिक ११ देखि आवेदन खुला भई छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते बन्द हुनेछ।

कम्पनीले क्रेडिट रेटिङका लागि इक्रा नेपाल लिमिटेडबाट ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ प्राप्त गरेको छ। २०२६ अगस्ट १३ मा दिइएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०२७ अगस्ट १३ सम्म बहाल रहनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा वा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयरसमेत सर्वसाधारणतर्फ समायोजन गरी निष्कासन गर्न सकिने कम्पनीले जनाएको छ। आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*