जनकपुर चुरोट कारखानाको बक्यौता दाबी गर्न २१ दिनको म्याद

२६ आश्विन २०८३, सोमबार १०:०९

काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा अन्य दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ। सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि कारखानाले सोमबार सार्वजनिक सूचना जारी गर्दै लिनदिन बाँकी रकम तथा अन्य दायित्वसम्बन्धी दाबी भए तोकिएको समयभित्र सम्पर्क गर्न भनेको हो।

मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरेको कारखानाले जनाएको छ।

कारखानाले जारी गरेको सूचनाअनुसार कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाले आफूले पाउनुपर्ने रकम वा अन्य दायित्वसम्बन्धी दाबी प्रमाणसहित पेस गर्न सक्नेछन्। कुनै निकायको फैसला वा निर्णयअनुसार लिनदिन बाँकी हरहिसाब, जग्गा रोक्का, बीमा तथा कर्मचारीको सेवा–सुविधासम्बन्धी दाबीसमेत प्रमाणसहित पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ।

त्यस्तै, कारखानालाई तिर्न वा बुझाउन बाँकी बक्यौता भएका व्यक्ति तथा संस्थालाई पनि तोकिएको अवधिभित्र सम्पर्क गरी हिसाब फरफारक गर्न भनिएको छ। निर्धारित समयभित्र दाबी प्राप्त नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने र म्याद समाप्त भएपछि कारखानामाथि कुनै दाबी स्वीकार नगरिने सूचनामा उल्लेख छ।

दाबी तथा हरहिसाबसम्बन्धी कामका लागि सरोकारवालाले धनुषाको जनकपुरस्थित कारखाना परिसरमा सम्पर्क गर्न सक्नेछन्। थप जानकारीका लागि ९८४५१०५००८ नम्बरमा सम्पर्क गर्न सकिने कारखानाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*