नवलपरासीमा बस पल्टिँदा सात जना घाइते

२६ आश्विन २०८३, सोमबार ११:५८

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित एस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः३० बजे काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो। बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दार्चुलाका ५२ वर्षीय पुष्कर सिंह धामी, अछामकी २६ वर्षीया मौसमी ओढ, दार्चुलाकी ३० वर्षीया भगवती अवस्थी, कैलालीकी २९ वर्षीया निर्मला खड्का, दार्चुलाका ४८ वर्षीय धनञ्जय जोशी तथा बसचालक कैलालीका ३९ वर्षीय इन्द्र विक र सहचालक ४६ वर्षीय मोहन जोशी घाइते भएका छन्।

घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको छ। उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकमा समेत सामान्य ठक्कर लागेको थियो। दुर्घटनाका कारण ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*