एनआरएन इन्फ्रास्ट्रक्चरले तीन कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्ने

२८ आश्विन २०८३, बुधबार ११:३६

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत आयोजना र एक केबल्स उद्योगमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

कम्पनीको २०८३ असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लगानीसम्बन्धी निर्णय गरेको हो । कम्पनीले दुधकोशी–२ जलविद्युत आयोजना, छुजुङ खोला जलविद्युत आयोजना र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा लगानी गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा प्रवर्द्धन भइरहेको ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड कित्ता सेयर खरिद गर्नेछ ।

त्यस्तै, सानिगार्ड ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा कम्पनीले २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त आयोजनामा कम्पनीले २० लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो ।

यसैगरी, कम्पनीले मोरङमा रहेको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा पनि लगानी गर्ने भएको छ । उक्त उद्योगको २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्न कम्पनीले ९ करोड ९७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

यी तीनवटै कम्पनी तथा आयोजनामा प्रस्तावित लगानीको कुल रकम १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*