दसैँ मनाउन काठमाडौं छाड्नेको संख्या बढ्दो, २४ घण्टामा ७८ हजारभन्दा बढी बाहिरिए

काठमाडौं । बडादसैँ नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किने सर्वसाधारणको संख्या बढेको छ । अध्ययन, रोजगारी र व्यापार व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक चाडपर्व मनाउन आफ्नो थातथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको आवागमन बढेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको २४ घण्टामा ७८ हजार १३८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि हालसम्म सार्वजनिक यातायातमार्फत बाहिरिनेको कुल संख्या एक लाख ८७ हजार ७७४ पुगेको छ ।
असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ जनाले उपत्यका छाडेका थिए । दसैँका लागि घर जाने यात्रुको चाप फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले र साँखुलगायतका नाकामा देखिएको छ । भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा हुँदै पनि ठूलो संख्यामा यात्रु बाहिरिरहेका छन् ।
यात्रुको संख्या बढेसँगै सार्वजनिक यातायातको व्यवस्थापनमा चुनौती थपिएको छ । विभिन्न राष्ट्रिय राजमार्गमा देखिएका अवरोध र सडकको बिग्रँदो अवस्थाले सवारीसाधनको नियमित सञ्चालन प्रभावित भएको छ । यसका कारण गन्तव्यमा पुग्न र उपत्यका फर्किन लाग्ने समय बढ्दा यातायात व्यवस्थापनमा थप दबाब परेको छ ।
असोज २३ गते अग्रिम टिकट बुकिङ सुरु भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्गको सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसक्रममा धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यातायात सञ्चालनको तालिका मिलाउन कठिनाइ भएको थियो ।
यस वर्ष दसैँका लागि अग्रिम बस टिकट लिने यात्रुको संख्या पनि उल्लेख्य छ । हालसम्म एक लाख ३० हजार १२९ जनाले टिकट बुकिङ गरिसकेका छन् । असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ तथा असोज २७ गते १५ हजार ५५३ जनाले अग्रिम टिकट लिएका छन् ।











