विन्ध्यवासिनी हाइड्रोपावरको शेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगित गरेको छ। कम्पनीले साधारणसभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय समयमै नेप्सेलाई जानकारी नगराएको भन्दै कारोबार रोकिएको हो।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिले असोज २६ गते दिउँसो ३ः३० बजे बैठक बसेर वार्षिक साधारणसभा, बुक क्लोज र लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। तर उक्त निर्णयको जानकारी कम्पनीले असोज २७ गते साँझ ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन प्रणालीमार्फत गराएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार शेयर मूल्यमा प्रभाव पार्न सक्ने सूचना तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ। कम्पनीले उक्त व्यवस्था पालना नगरेको भन्दै नेप्सेले विनियमावलीको विनियम १६ (१) (ख) अनुसार असोज २८ गतेदेखि शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
नेप्सेले पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र निर्णयबारे समयमै जानकारी दिन नसक्नुको कारण स्पष्ट पार्न कम्पनीलाई निर्देशन दिएको छ। कम्पनीले स्पष्टीकरण पेस गरेपछि कारोबार स्थगनसम्बन्धी विषयमा थप प्रक्रिया अघि बढ्नेछ।
बिन्ध्यबासिनी हाइड्रोपावरले ५% बोनस शेयर दिएर शतप्रतिशत हकप्रद ल्याउने, बोलायो साधारणसभा











