जीवन बीमाको बजारमा सावधिक बीमाकै राज: २ महिनामै १९ अर्बको व्यवसाय, अन्य बीमालेखबाट कति?

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आर्जन गरेको कुल बीमाशुल्कमध्ये सबैभन्दा ठूलो हिस्सा सावधिक जीवन बीमाबाट आएको छ। जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जनमा सावधिक जीवन बीमाको योगदान सबैभन्दा बढी देखिएको हो ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा जीवन बीमा कम्पनीहरूले कुल ४१ अर्ब २९ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये सावधिक जीवन बीमाबाट मात्रै १९ अर्ब १५ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
सावधिक जीवन बीमा निश्चित अवधिका लागि गरिने बीमा हो । यसमा बीमितले तोकिएको अवधिसम्म नियमित रूपमा बीमाशुल्क भुक्तानी गर्छन् र बीमालेखको सर्तअनुसार अवधि पूरा भएपछि बीमाङ्क रकम तथा लागू हुने बोनस प्राप्त गर्छन् । बचत र जीवन सुरक्षालाई एकसाथ जोड्ने भएकाले यस्तो बीमाप्रति ग्राहकको आकर्षण रहेको देखिन्छ ।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ७ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, रूपान्तरित सावधिक जीवन बीमाबाट ४ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ र बालबच्चासम्बन्धी सावधिक जीवन बीमाबाट ५ अर्ब ८३ करोड १९ लाख हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
यसैगरी, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट ५५ करोड ३३ लाख रुपैयाँ, आजीवन जीवन बीमाबाट ८३ करोड ५८ लाख रुपैयाँ तथा एकल बीमाशुल्क जीवन बीमाबाट १ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्यांकमा उल्लेख छ ।

म्यादी जीवन बीमातर्फ २६ करोड २९ लाख रुपैयाँ, लघु जीवन बीमातर्फ ५८ करोड ९० लाख रुपैयाँ र अन्य जीवन बीमातर्फ ६३ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
प्रदेशगत रूपमा बागमती अगाडि
प्रदेशगत तथ्यांक हेर्दा साउनमा जीवन बीमा व्यवसायमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । बागमती प्रदेशमा विभिन्न प्रकारका जीवन बीमालेखमार्फत कुल १९ अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशमा ५ अर्ब ९३ करोड, कोशी प्रदेशमा ४ अर्ब ८८ करोड रुपैयाँ, गण्डकी प्रदेशमा ४ अर्ब १ करोड रुपैयाँ र मधेश प्रदेशमा ३ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट २ अर्ब २२ करोड तथा कर्णाली प्रदेशबाट १ अर्ब १६ करोडरुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्यांकले देखाएको छ ।











