चक्रवात ‘अर्नब’को असर नेपालमा, आज देशभर वर्षा र हिमपात

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव नेपालमा देखिन थालेको छ। पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशका अधिकांश भूभागमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।
आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने जनाइएको छ।
महाशाखाका अनुसार शनिबार पनि मौसममा उल्लेख्य सुधार हुने देखिएको छैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।











