कृषि विकास बैंकको लाभांश खातामा नआए के गर्ने ? शेयरधनीलाई यस्तो सूचना

काठमाडौं । कृषि विकास बैंकले लामो समयदेखि नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई आफ्नो बैंक खाता तथा हितग्राही (डिम्याट) खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकले विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरे पनि केही शेयरधनीले हालसम्म आफ्नो बैंक खाता अद्यावधिक नगरेका कारण लाभांश रकम भुक्तानी हुन नसकेको जनाएको छ ।
बैंकले लाभांश प्राप्त गर्न बाँकी रहेका शेयरधनीलाई आफूले खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डीपी) मा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न तथा डिम्याट खातामा आफ्नो बैंक खाता नम्बरलगायत आवश्यक विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
त्यस्तै, डिम्याट खातामा बैंक खाताको विवरण उपलब्ध गराउँदा भएको त्रुटिका कारण नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीको विवरण बैंकको शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलको वेबसाइटमा राखिएको बैंकले जनाएको छ । सम्बन्धित शेयरधनीले वेबसाइटमा आफ्नो विवरण जाँच गरी आवश्यक सच्याउनुपर्नेछ ।
बैंकका अनुसार पाँच वर्षसम्म पनि कुनै लगानीकर्ताले दाबी नगरेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ । त्यसैले आफ्नो नाममा रहेको बाँकी लाभांश प्राप्त गर्न समयमै आवश्यक विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।
नगद लाभांशसम्बन्धी थप जानकारीका लागि शेयरधनीले बैंकको शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालय वा पुतलीसडक, लगनखेल, विराटनगर, वीरगञ्ज, पोखरा र बुटवलका शाखामा सम्पर्क गर्न सक्नेछन् । साथै कृषि विकास बैंकका नजिकका शाखाबाट पनि आवश्यक जानकारी लिन सकिनेछ ।











