‘हिमालमा आउने विपद्को असर समुद्रसम्म पुग्न सक्छ’, पूर्वसूचना प्रणाली बलियो बनाउन नेपालको जोड

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा हुने विपद्को असर टाढाका बस्ती र तटीय क्षेत्रसम्म पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
थाइल्याण्डको बैंककमा आयोजित क्षेत्रीय संवादमा प्रस्तुतीकरण गर्दै उनले विपद्को जोखिम कुनै एउटा क्षेत्रमा मात्र सीमित नहुने बताए। एउटा स्थानमा पहिचान गरिएको जोखिमले अन्य क्षेत्रमा समेत जनधन र जीविकोपार्जनमा क्षति पुर्याउन सक्ने भएकाले तथ्याङ्क आदानप्रदान, संयुक्त जोखिम मूल्याङ्कन र देशहरूबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।
उनले विपद्को जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। हिमालदेखि समुद्रसम्म जोखिमले विभिन्न क्षेत्रलाई जोड्ने भएकाले विपद् व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन, सरकारी निकाय र देशहरूबीच सहकार्य हुनुपर्ने उनले बताए।
‘नेपालको विपद्बाट प्राप्त सिकाइ र हिमाली क्षेत्रमा विपद् जोखिम सुशासन तथा पूर्वतयारीका लागि यसको प्रभाव’ विषयमा प्रस्तुतीकरण गर्दै उप्रेतीले हिमाली क्षेत्रमा हुने परिवर्तनको असर तत्कालीन स्रोत क्षेत्रभन्दा धेरै टाढासम्म फैलिन सक्ने उल्लेख गरे। त्यसैले हिमाली र तल्लो तटीय देशहरूबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
उनले नेपालमा आगामी पुनर्निर्माणका काममार्फत विपद् सहन सक्ने क्षमता बढाउने प्रयास गरिने जानकारी पनि दिए। विपद्पछिको पुनर्निर्माणलाई भविष्यमा आउन सक्ने जोखिमको सामना गर्न सक्ने संरचना र समुदाय निर्माणसँग जोड्नुपर्ने उनको भनाइ थियो।
‘सगरमाथादेखि सागरसम्मः श्रृंखलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ शीर्षकमा आयोजित उक्त क्षेत्रीय संवाद बैंककमा भएको एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा आयोजना गरिएको हो।











