नेपाल लाइफभित्र चरम भ्रष्टाचार, बोनसदर लगातार घट्दै

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफभित्र व्यवस्थापन र सञ्चालकहरुले गरेको चरम भ्रष्टाचार र बेथितीका कारण कम्पनीको वित्तीय जोखिम बढ्न पुगेको छ । कम्पनीभित्र सञ्चालकहरुले गरेको चरम भ्रष्टाचार कारण लगातार बोनस घटिरहेको छ । यद्यपि इक्रा रेटिङ डबल ए रेटिङ सार्वजनिक गरेको छ ।
कम्पनीमा पकड जमाएको संघाई ग्रुप र बिशाल ग्रुपले आलोपालो भ्रष्टाचार गर्दै आएका छन् । नेपाल लाइफको लगानी रहेको कमलपोखरीस्थित सिटी सेन्टरमा कम्पनीले गरेको करोडौं रुपैयाँ गैर कानुनी लगानीको लाभ संघाइ ग्रुपले लिइरहेको छ । जसका कारण बीमितले पाउने बोनस लगातार घटिरहेको छ । सिटी सेन्टर जस्तै थुप्रै क्षेत्रमा कम्पनीले सञ्चालकहरुको स्वार्थमा गरेको लगानीका कारण प्रतिफल घटिरहेको छ । यसबाट बीमितले पाउने बोनस प्रत्यक्ष रुपमा प्रभावित हुने्छन् ।
व्यापक रुपमा मौलाएको भ्रष्टाचारकै कारण पछिल्ला तीन बर्षमा कम्पनीको प्रतिफल पनि लगातार घटिरहेको छ । आर्थिक वर्ष २०८०।८१ मा १०.१ प्रतिशत र आर्थिक वर्ष २०८१।८२ मा ९.४ प्रतिशत मात्रै प्रतिफल दिन सफल भएको थियो भने आर्थिक वर्ष २०८२।८३ मा घटेर ८.१ प्रतिशतमा झरिसकेको छ। कम्पनीको वित्तीय अवस्था लगातार कमजोर हुँदा पनि सञ्चालकहरुले आफ्ना गतिविधिहरु जारी राखेका छन् ।

नेपाल लाइफको बोनसदर कुनै समय ६५ रुपैयाँसम्म पुगेकोमा अहिले घटेर ६० बाट पनि तल झरिरहेको छ । कम्पनीभित्रको भ्रष्टाचार र बेथिती अन्त्यका लागि बीमा अभिकर्ताहरुले विगत तीन वर्षदेखि आन्दोलन गर्दै आएको भएपनि सेटिङमा झिसमिस पार्दै आएका छन् ।
पछिल्लो अद्यावधिक बोनस दर अनुसार आव २०८१।०८२ मा कम्पनीले ५६ रुपैयाँसम्म न्यूनतम् बोनस दर रहेको छ । तथ्याङ्क अनुसार करिब ७५ हजार बीमा बीमा पोलिसी होल्डर बीमितले ५६ रुपैयाँ प्रतिबर्ष प्रतिहजारका दरले बोनस पाउने छन् ।

बोनस दर बीमा कम्पनीले गर्ने आम्दानी, लगानीबाट प्राप्त प्रतिफलको र, सो प्रतिफलका लागि कम्पनीले गरेको खर्चको आधारमा गणना हुन्छ । कम्पनीमा मुख्य सञ्चालक संघाई ग्रुपले कम्पनीभित्रको माइक्रो म्यानेजमेन्ट गरिरहेको छ । कम्पनीले गर्ने बार्षिक अर्बौ रुपैयाँ खर्चमा ग्रुपको चासो र स्वार्थ बाझिने गरी गर्ने गरिएको छ । जसका कारण कम्पनीमा व्यवस्थापन खर्च उच्च हुन गई बोनस र मुनाफा दुवै घट्दै गइरहेको छ ।
कम्पनीभित्र बढ्दो भ्रष्टाचारको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सिईओ प्रविणरमन पराजुली सम्पर्कमा आउन चाहेनन् । सञ्चालक कमलेश कुमार अग्रवालले पनि आफू व्यस्त भएकोले पछि कुरा गर्ने भन्दै पन्छिए ।











