शेयर बजारलाई विकृतिमुक्त बनाउँदै नियामकीय दायरामा ल्याउने काम गरिरहेका छौँः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले शेयर बजार सुधारका लागि अघि सारेको २१ बुँदे कार्यक्रमपछि बजार स्वस्थ बाटोमा अघि बढिरहेको बताएका छन् । विगतमा अव्यवस्थित र अनियमितताको क्षेत्र बनेको शेयर बजारलाई विकृतिमुक्त बनाउँदै नियामकीय दायरामा ल्याएर दीर्घकालीन रूपमा व्यवस्थित र स्वस्थ लयमा फर्काउने प्रयास भइरहेको उनको भनाइ छ ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले शेयर बजारमा देखिएका विकृति र अनियमितता अन्त्य गर्दै यसलाई व्यवस्थित बनाउने सरकारको प्रयास निरन्तर जारी रहने बताए । उनले शेयर बजार सुधारका लागि सरकारले २१ बुँदे कार्यक्रम सार्वजनिक गरिसकेको उल्लेख गर्दै सुधार एकपटक कार्यक्रम ल्याएर पूरा हुने विषय नभई निरन्तरको प्रक्रिया भएको स्पष्ट पारे ।
यसैगरी, अर्थमन्त्री वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको जानकारी दिए । आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको बताउँदै उनले उच्चतम करको स्ल्याबमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको उल्लेख गरे । पाँच लाख रुपैयाँको सीमालाई बढाएर १० लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
करका दर घटाउँदा राजस्वमा ठूलो गिरावट आउने आशंका गरिए पनि करको दायरा विस्तार र कर प्रणाली सुधार गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय लिएको उनले बताए । कर्मचारीको पारिश्रमिक वृद्धि हुँदा पनि करको भार कम हुने गरी व्यवस्था गरिएको उनले जानकारी दिए ।
भन्सार तथा अन्तःशुल्कलगायतका क्षेत्रमा समेत सुधार प्रक्रिया सुरु गरिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई थप फराकिलो र गहिरो बनाइने बताए । यसका लागि पाँचदेखि छ महिनाअघिदेखि नै बजेटको तयारी थालिएको उनको भनाइ छ ।
उनले पूर्वाधार सम्मेलनको सन्दर्भमा ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने गरी समग्र कानुनी सुधार अघि बढाउन लागिएको जानकारी दिए । साथै, समग्र अर्थतन्त्रलाई लक्षित गरी आर्थिक प्याकेजमा काम भइरहेको र आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।











