सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख २१ हजार १२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनी श्याम सुन्दर खेतानको नाममा रहेको उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको हो।
बैंकका अनुसार खेतानले आफ्नो नाममा रहेको शेयर बिक्री तथा नामसारी गर्न निवेदन दिएपछि सञ्चालक समितिले आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। प्रचलित व्यवस्थाअनुसार संस्थापक शेयर खरिदमा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले बैंकले यसअघि उनीहरूका लागि शेयर खरिद गर्न आह्वान गरेको थियो।
बैंकले ३५ दिने सूचना प्रकाशित गरी विद्यमान संस्थापक शेयरधनीलाई खरिदका लागि जानकारी गराएको थियो। तर तोकिएको अवधिभित्र शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीबाट लिखित आवेदन प्राप्त नभएपछि अब अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।
इच्छुक खरिदकर्ताले अबको सात दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट खुलाउनुपर्ने बैंकले जनाएको छ।











