नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीद्वय विजयबहादुर मानन्धर र मिरा अग्रवालको स्वामित्वमा रहेको शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको हो।
कम्पनीका अनुसार मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र अग्रवालको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन परेको थियो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार कम्पनीले ३५ दिने सूचना प्रकाशित गरी विद्यमान संस्थापक शेयरधनीलाई शेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अब अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
इच्छुक व्यक्ति तथा संस्थाले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँभन्दा कम नहुने गरी मूल्य प्रस्ताव गर्नुपर्नेछ। साथै नेपाल राष्ट्र बैंकले संस्थापक शेयरधनी बन्नका लागि तोकेका आवश्यक कागजात तथा विवरण संलग्न गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।











