पुँजी बजारमा त्रासको वातावरणः लगानीकर्ताको अर्बौँ लगानी जोखिममा, यी कारण हुँदैछ राताम्य!

४ मंसिर २०८३, शुक्रबार १५:०५

काठमाडौँ । शेयर बजारमा पुनः गिरावटको क्रम सुरु भएको छ । लगातार तीन कारोबार दिनसम्म राताम्य बनेको बजारमा हिजो सामान्य सुधार देखिए पनि आज पुनः ओरालो लागेको हो । बजारमा निरन्तर बिक्रीको चाप बढ्दै जाँदा अर्बौँ रुपैयाँ लगानी गरेका लगानीकर्ता चिन्तित बनेका छन् । बजारको घट्दो प्रवृत्तिले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ भने उनीहरूको लगानीको मूल्यसमेत निरन्तर खुम्चिँदै गएको छ । बजारमा देखिएको यो अवस्थाले लगानीकर्तालाई थप अन्योलमा पारेको छ । विशेषगरी बजारमा सुधार आउने अपेक्षासहित लगानी गरेका साना तथा ठूला लगानीकर्ता अहिले आफ्नो लगानी सुरक्षित हुनेमा समेत विश्वस्त हुन सकिरहेका छैनन् ।

दशैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्व सकिएपछि बजारमा तरलता बढ्ने, आर्थिक गतिविधि चलायमान हुने र त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने अपेक्षा गरिएको थियो । चाडपर्वपछि बजारमा नयाँ पैसा प्रवेश गर्ने र शेयर बजारले पुनः हरियालीको बाटो समात्ने अनुमानका आधारमा धेरै लगानीकर्ताले बजारमा प्रवेश गरेका थिए । तर, अपेक्षाविपरीत बजारले निरन्तर ओरालो यात्रा तय गरेपछि उनीहरू निराश बनेका छन् । सूचकमा देखिएको लगातारको गिरावटले नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्न हिचकिचाइरहेका छन् भने पुराना लगानीकर्तासमेत थप लगानी गर्ने कि आफ्नो पोर्टफोलियो जोगाउने भन्ने द्विविधामा छन् । बजारमा खरिदकर्ताको मनोबल कमजोर हुँदा कारोबारमा समेत अपेक्षित उत्साह देखिन सकेको छैन ।

शेयर बजारलाई गति दिन आवश्यक मानिने अधिकांश आर्थिक तथा नीतिगत सूचक सकारात्मक देखिएका छन् । अर्थ मन्त्रालयले समेत पूँजी बजारमैत्री नीति अवलम्बन गरिरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा नेपाल राष्ट्र बैंकबाट पनि बजारलाई सहज बनाउने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था लचिलो बनाइएका छन् । यता, अर्थतन्त्रका समग्र सूचकमा समेत सुधारका संकेत देखिएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून अवस्थामा छ भने लगानीका लागि कर्जाको लागतसमेत तुलनात्मक रूपमा कम छ । सामान्यतः यस्ता परिस्थितिले शेयर बजारमा सकारात्मक प्रभाव पार्नुपर्ने हो । तर, नीतिगत सहजीकरण र आर्थिक सूचकको अनुकूलताका बाबजुद बजारमा लगानीकर्ताको विश्वास फर्किन सकेको छैन ।

बजारमा लगानीकर्ताको मनोबल कमजोर बनाउने प्रमुख कारणमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धानलाई पनि हेरिएको छ । सरकारले अवैध रूपमा आर्जन गरिएको सम्पत्ति तथा त्यसको स्रोत पहिचान गर्ने अभियानलाई तीव्रता दिएसँगै पूँजी बजारमा लगानीको स्रोतलाई लिएर चासो र चिन्ता बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले समेत यही साता शेयर बजारमा स्वच्छ लगानीलाई प्राथमिकता दिने विषयमा अभिव्यक्ति दिएका थिए । सरकारको यस्तो कदमलाई एकातर्फ पूँजी बजारमा पारदर्शिता र सुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ यसको प्रभावलाई लिएर लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको छ । विशेषगरी बजारमा लामो समयदेखि ठूलो रकम परिचालन गर्दै आएका केही ठूला लगानीकर्ता तथा बिचौलियाको लगानीको स्रोतबारे सरकारले अनुसन्धान गर्न सक्ने आशंकाले बजारमा थप सतर्कता बढाएको छ । लगानीको स्रोत खुलाउनुपर्ने अवस्था आउन सक्ने डरले केही लगानीकर्ता कारोबारमा सक्रिय हुन हिचकिचाइरहेको बजारका जानकारहरूको बुझाइ छ ।

अर्कोतर्फ, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था र लाभांश वितरणले पनि लगानीकर्ताको अपेक्षा पूरा गर्न सकेको छैन । पछिल्लो समय विभिन्न कम्पनीले सार्वजनिक गरेका वित्तीय विवरण तथा लाभांश घोषणामा अपेक्षित आकर्षण नदेखिँदा लगानीकर्ताको उत्साह कमजोर बनेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थासहित विभिन्न क्षेत्रका कम्पनीबाट राम्रो प्रतिफलको अपेक्षा गरेका लगानीकर्ताले सन्तोषजनक लाभांश नपाउँदा शेयरमा लगानी गर्ने निर्णय पुनर्विचार गर्न थालेका छन् । शेयर बजारमा लगानी गर्दा कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ, लाभांश क्षमता तथा भविष्यको व्यावसायिक सम्भावनालाई आधार बनाइन्छ । तर, कम्पनीहरूको प्रतिफल कमजोर देखिँदा वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने लगानीकर्तासमेत पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३८ अकंले घटेर २६२१.२९ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ७६ लाख ६३ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् भने २ उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक र म्युचुअल फण्ड समूहको शेयर बढेको हो ।

शुक्रबार ८९ कम्पनीको शेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*