जीवन बीमामा सावधिक बीमालेखको वर्चस्व, एकल बीमाशुल्क ६७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाली जीवन बीमा बजारमा सावधिक प्रकृतिका बीमालेखको हिस्सा सबैभन्दा बढी देखिएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको तथ्यांकअनुसार कुल जीवन बीमाशुल्क संकलनमा सावधिक जीवन बीमालेखको योगदान ४४.४८ प्रतिशत रहेको छ । यस अवधिमा एकल बीमाशुल्क र लघु जीवन बीमालेखबाट हुने संकलनमा भने उल्लेख्य वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा सावधिक जीवन बीमालेखबाट २६ अर्ब १२ करोड ३ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस शीर्षकमा २१ अर्ब २९ करोड १९ लाख ९५ हजार रुपैयाँ संकलन भएको थियो। यसअनुसार सावधिक जीवन बीमालेखबाट हुने बीमाशुल्क संकलन २२.६८ प्रतिशतले बढेको छ ।
त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखबाट १० अर्ब ४६ करोड १९ लाख ९० हजार रुपैयाँ संकलन भएको छ । कुल संकलनमा यसको हिस्सा १७.८१ प्रतिशत रहेको छ । बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखबाट ८ अर्ब ५७ करोड ३७ लाख ५ हजार रुपैयाँ र रूपान्तरित सावधिक जीवन बीमालेखबाट ६ अर्ब ४१ करोड ६९ लाख ४० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यी दुई बीमालेखको कुल बजार हिस्सा क्रमशः १४.६० र १०.९३ प्रतिशत रहेको छ ।
वृद्धिदरका आधारमा एकल बीमाशुल्क जीवन बीमालेख अगाडि देखिएको छ । यस शीर्षकबाट हुने बीमाशुल्क संकलन गत वर्षको तुलनामा ६७.६५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै लघु जीवन बीमालेखबाट १ अर्ब १० करोड ८ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ जुन गत वर्षको तुलनामा ४२.९५ प्रतिशतले बढी हो ।
यस अवधिमा आजीवन जीवन बीमालेखबाट १ अर्ब २२ करोड ४६ लाख २० हजार रुपैयाँ र अन्य जीवन बीमालेखबाट ९९ करोड ३९ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । आजीवन बीमालेखको संकलन १.०७ प्रतिशत र अन्य बीमालेखको संकलन ९.५२ प्रतिशतले बढेको छ ।
यता वैदेशिक रोजगार म्यादी र साधारण म्यादी जीवन बीमालेखबाट हुने बीमाशुल्क संकलन भने घटेको छ । वैदेशिक रोजगार म्यादी बीमालेखबाट ८६ करोड ५० लाख ४६ हजार रुपैयाँ संकलन भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २.८६ प्रतिशतले कम हो । त्यस्तै साधारण म्यादी जीवन बीमालेखबाट ४० करोड १७ लाख ५३ हजार रुपैयाँ संकलन भएको छ। यसमा पनि ९.०९ प्रतिशतको गिरावट देखिएको छ ।












