बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण सुधार्न बीमा प्राधिकरण र टोरोन्टो सेन्टरबीच छलफल

काठमाडौँ । नेपालको बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने र कर्मचारीहरूको संस्थागत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण र टोरोन्टो सेन्टरबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
टोरोन्टो सेन्टरको समन्वयमा मंसिर २ र ३ गते आयोजित ‘नीड्स असेस्मेन्ट एन्ड क्यापासिटी बिल्डिङ’ कार्यक्रममा बीमा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई थप सुदृढ बनाउने, नियामकीय क्षमता विकास गर्ने तथा अन्तर्राष्ट्रिय असल अभ्यासलाई नेपालको सन्दर्भमा अवलम्बन गर्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापा, कार्यकारी निर्देशक, निर्देशकहरू तथा टोरोन्टो सेन्टरका प्रोग्राम डाइरेक्टर मम्ता सुरी र प्रोग्राम लिडर टोमास प्राउजालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा विकसित नियामकीय अभ्यास, नेतृत्व विकास, कर्मचारीको दक्षता अभिवृद्धि तथा संस्थागत क्षमता सुदृढीकरणका विषयमा प्रस्तुतीकरण र विचार आदानप्रदान गरिएको प्राधिकरणले जनाएको छ।
साथै, नेपालको बीमा क्षेत्रको वर्तमान अवस्था र आवश्यकताका आधारमा आगामी दिनमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने तथा आपसी सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको हो ।
टोरोन्टो सेन्टरले यसअघि कात्तिक ३० र मंसिर १ गते नेपाल धितोपत्र बोर्डका उच्चपदस्थ कर्मचारीहरूसँग पनि छलफल गरेको थियो।











