कहिले साटिन्छन् भारु नोटहरु ? प्रधानमन्त्रीको भारत भ्रमणमा बनेन एजेण्डा !

काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा आठ करोड १० लाख रुपैयाँ बराबरका महात्मा गान्धीको तस्विर अंकित नोटहरु रहेका छन् । पाँच सय र एक हजार रुपैयाँका दरका ति भारु नोटहरु भारत साट्न नमानेको १० बर्ष नाघिसकेको छ । सन् २०१६ मा पाँच सय र एक हजार दरका भारु नोट प्रतिबन्ध गर्ने भारत सरकारले निर्णय गर्दा सर्वसाधारणलाई नोट साट्न समय दिएको भएपनि नेपाल राष्ट्र बैंकको ढुकुटीमा भएका ति नोटहरु सटही गर्न भारत मानेको थिएन ।
सोही समयमा एनएमबी बैंकले आफूसँग भएको भारु नोटहरु विशेष च्यानलमार्फत सटही गर्न सफल भएको थियो । तर, नेपाल राष्ट्र बैंकले भने ति ति भारु नोटहरु आजसम्म साट्न सकेको छैन ।
राष्ट्र बैंकका अनुसार हाल नेपालको वित्तीय प्रणालीमा करिब ८ करोड १० लाख ८ सय रुपैयाँ बराबरका ५ सय र हजार दरका भारु नोट छन् । ६८ हजार १ सय ४८ वटा पाँच सय दरका ३ करोड ४० लाख ७३ हजार ५ सय भारु राष्ट्र बैंकमा छ । १६ हजार ५ सय ५२ वटा एक हजार दरका १ करोड ६५ लाख ५२ हजारसहित कुल ५ करोड ६ लाख २५ हजार ५ सय भारु राष्ट्र बैंकमा छ । १० वर्षदेखि नसाटिएका ति नोटहरु भोलिदेखि नेपाल प्रधानमन्त्रीको राजकीय भारत भ्रमण सुरु हुँदैछ । तर नेपाल राष्ट्र बैंकभित्रका भारतीय दलाल जस्तै बनेका उच्च अधिकारीहरुले चुईक्क बोल्न नसकी नोट सटहीको एजेण्डा अघि सार्न सकेका छैनन् ।
एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउन हतार हतार चाकडी गर्ने नेपाल राष्ट्र बैंकभित्रका राष्ट्रघाती दलालहरुले किन भारतीय नोट साट्न कुटनीतिक क्षेत्रमा पहल गर्न सकिरहेका छैनन् ? भारत रिसाउने डरले राष्ट्र बैंकका कुनै पनि कर्मचारीहरु उक्त नोटबारे चुइक्क बोल्ने गरेका छैनन् ।
भारतमा नोट प्रतिबन्ध लगाएर छानविन गर्दा ९८ प्रतिशत नोट प्रणालीमै फर्किएकाले कालोधन नियन्त्रण गर्ने उद्देश्य पनि पुरा भएको थिएन । अतः नेपालको केन्द्रीय बैंकमा मौज्दात भएको नोट कुनै कालोधन समेत होइन, तर किन भारत साट्न चाहदैन ? भनेर प्रश्न सोध्ने हिम्मत समेत राष्ट्र बैंकका गभर्नर वा अन्य पदाधिकारीहरुले गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे धेरै पहिलादेखि नै चर्चा सुरु भएको थियो । तर अहिलेसम्म पनि राष्ट्र बैंकले नोट साट्ने सम्बन्धमा प्रयास अघि सारेका छैनन् । जागिर राष्ट्र बैंकमा खाने काम चाही निजि बैंकहरुको संरक्षण गर्ने केन्द्रीय बैंकका केही खराव कर्मचारीहरुको कारण १० बर्षदेखि भारतले कानुन बमोजिम साटिदिनुपर्ने नोट अहिलसम्म साट्न मानेका छैन ।
सन् २०२३ मा भारतीय रिजर्भ बैंकको ज्वाइन्ट टेक्निकल कोअर्डिनेसन कमिटीको नियमित छलफलमा विषय उठाएको बाहेक त्यसयता यस विषयमा कुरा समेत उठाउन छोडिसकेको बुझिएको छ । भारतीय रिजर्भ बैंककै सहमतिमा उक्त नोटहरु सटही गर्ने निर्णय नेपाल राष्ट्र बैंकले गरेको थियो । नोटमाथि भुक्तानी प्रत्याभूति गरेको भारतीय रिजर्भ बैंकले नै नोट नसाट्ने निर्णय गर्नु गैर कानुनी कार्य थियो । ति नोटहरु सटही नगरी नेपालमा अहिले पनि भारु नोटको कारोबार भइरहेको छ । जुन त्रुटीपूर्ण छ । नेपाल जस्तै भुटान र अन्य केही देशका बैंकहरुमा रहेको भारु नोट भारतले सटही गरेको थियो । नेपालको नोट भने केन्द्रीय बैंकभित्र दास प्रवृत्ति भएका कर्मचारीहरुको कारण सफल भएको छैन ।
यस पटकको प्रधानमन्त्रीको भारत भ्रमणमा १० बर्षदेखि राष्ट्र बैंकका थन्किएको भारु नोट साट्ने सम्बन्धीमा ठोस पहल होला कि बालेन शाह ज्यु !











