महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भने, ‘नेपालमा लगानीका लागि भारतीय उद्योगीलाई स्वागत छ’

७ मंसिर २०८३, सोमबार ०९:५२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा उनीहरूले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै भारतीय निजी क्षेत्रलाई लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यमा सहभागी हुन आग्रह गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताए । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत रहेको उल्लेख गर्दै उनले गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको जानकारी दिए । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनको भनाइ थियो ।

श्रेष्ठले नेपालले गत वर्ष भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २९ अर्ब रुपैयाँ आम्दानी गरेको र यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको बताए । यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको उनको भनाइ थियो ।

नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै उनले १०२ उद्योगमा विदेशी लगानीका लागि स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिए । साथै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको बताउँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका अवसर उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरे । उनले सरकारले लगानीका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीसम्बन्धी कानुनलाई सरल र लगानीमैत्री बनाउँदै लगिएको बताए । नेपालमा लगानी गरिरहेका भारतीय व्यवसायीलाई थप लगानी गर्न आग्रह गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको जानकारी दिए ।

भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपाल–भारत सम्बन्ध, व्यापार तथा लगानीबारे चर्चा गर्दै नेपालको आर्थिक विकासमा भारत सधैँ सकारात्मक रहेको बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए । नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम तथा भारतीय बन्दरगाह र रेल सेवाको प्रभावकारी उपयोग गर्नुपर्ने उनको सुझाव थियो । भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापारिक तथा ढुवानी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

त्यसैगरी, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क विस्तार, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणालीको विस्तार आवश्यक रहेको उनले बताए । द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले नेपाल–भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताए । पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रमा भारतीय लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न भारतीय निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल–भारत व्यापार तथा लगानी विस्तारका लागि सुरक्षित र व्यवस्थित सीमा प्रणाली तथा लगानी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको पनि उनले बताए । कार्गो अनुगमन, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले अघि बढाएको निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता तथा लगानीको कानुनी र भौतिक सुरक्षा सुनिश्चित गर्ने जानकारी दिए ।

श्रेष्ठले नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका जुट, स्टिल तथा भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरणसम्बन्धी समस्या पनि उठाए । नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क तथा प्रस्तावित प्रतिकारात्मक शुल्कले पूर्वी नेपालका हजारौँ किसान र श्रमिकको रोजगारीमा असर पार्ने उनले बताए । त्यस्तै, भारतले नेपाली स्टिलमा सुरक्षात्मक शुल्क लागू गरेपछि गत आर्थिक वर्षमा भारततर्फको नेपाली स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको जानकारी दिए ।

बीआईएसको प्रमाणीकरण प्रक्रिया सहज हुँदै गएकोमा भारतलाई धन्यवाद दिँदै उनले प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी जटिलता अझै कायम रहेको बताए । यी समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारसमक्ष साझा सुझाव पेस गर्न उनले प्रस्ताव गरे ।

नेपालले भारतबाट ठूलो परिमाणमा वस्तु आयात गर्ने भएकाले नेपाली उद्योगको विकासले भारतीय उद्योगका लागि समेत थप बजार सिर्जना गर्ने श्रेष्ठको भनाइ थियो । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य लिएको र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण तथा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको उल्लेख गर्दै उनले दुवै देशका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*