चम्किलो विज्ञापनको पछाडि लुकेको जोखिम ! ‘एक्सट्रिम’ को सेवनमाथि उठ्यो गम्भीर प्रश्न

१० मंसिर २०८३, बिहीबार १४:३१

काठमाडौं । बजारमा पछिल्लो समय ‘इनर्जी ड्रिंक’को उपभोग तीव्र रूपमा बढिरहेको छ। आकर्षक प्याकेजिङ, चम्किला विज्ञापन, मिठो स्वाद र शरीरलाई तत्काल ऊर्जा दिने दाबीसहित विभिन्न ब्रान्डका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती भेटिन थालेका छन्। विशेषगरी युवा तथा किशोरकिशोरीलाई लक्षित गरी आक्रामक प्रचार गरिएका यस्ता पेय पदार्थप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। तर, आकर्षण र लोकप्रियताको यही भीडमा यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा पार्न सक्ने असर भने ओझेलमा पर्दै गएको देखिन्छ। उपभोक्ताले स्वाद र विज्ञापनलाई आधार बनाएर उत्पादन छनोट गरिरहँदा त्यसमा कस्ता रसायन तथा उत्तेजक पदार्थ मिसाइएका छन् र तिनको मात्रा कति छ भन्ने विषयमा पर्याप्त चासो दिएको पाइँदैन।

यही सन्दर्भमा नेपाली बजारमा बिक्री वितरण भइरहेको ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ अहिले स्वास्थ्य सुरक्षाको दृष्टिले प्रश्नको घेरामा परेको छ। थाई एग्रो फुडले बजारमा बिक्री गर्दै आएको उक्त पेय पदार्थमा अत्यधिक मात्रामा क्याफिन रहेको पाइएको छ। सामान्यतया अन्य इनर्जी ड्रिङ्क उत्पादक कम्पनीहरूले प्रतिक्यान १०० मिलिग्राम क्याफिन रहेको प्राविधिक विवरण तथा प्रयोगशाला परीक्षण प्रतिवेदन उपलब्ध गराउँदै आएका छन्। तर, ‘एक्सट्रिम’ मा भने त्यसको तुलनामा झन्डै दोब्बर क्याफिन भेटिएको पाइएको छ ।

क्याफिन सामान्यतया चिया, कफी तथा विभिन्न पेय पदार्थमा पाइने उत्तेजक पदार्थ हो। सीमित मात्रामा सेवन गर्दा यसले केही समयका लागि निद्रा कम गर्ने र सतर्कता बढाउने प्रभाव पार्न सक्छ। तर, यसको मात्रा बढ्दै जाँदा शरीरमा पर्ने असर पनि गम्भीर हुन सक्छ। अत्यधिक क्याफिन सेवनले मुटुको धड्कन बढ्ने, रक्तचापमा परिवर्तन आउने, बेचैनी हुने, हातखुट्टा काँप्ने, टाउको दुख्ने, निद्रा नलाग्ने तथा मानसिक उत्तेजना बढ्नेजस्ता समस्या निम्त्याउन सक्छ। कतिपय अवस्थामा मुटुको चालमा अनियमितता देखिनुका साथै चिन्ता र चिडचिडापनसमेत बढ्न सक्छ। विशेषगरी एकैपटक धेरै मात्रामा क्याफिन सेवन गर्ने वा नियमित रूपमा उच्च क्याफिनयुक्त पेय पदार्थ पिउने व्यक्तिमा यस्ता जोखिम थप बढ्न सक्छन्।

इनर्जी ड्रिङ्कको जोखिम वयस्कमा मात्र सीमित छैन। बालबालिका तथा किशोरकिशोरीका लागि यस्ता पेय पदार्थ अझ संवेदनशील मानिन्छन्। शारीरिक तथा मानसिक विकासको चरणमा रहेका उनीहरूको शरीरमा अत्यधिक क्याफिनले निद्रा, व्यवहार, एकाग्रता र मुटुको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। परीक्षाको तयारी, खेलकुद, शारीरिक थकान वा साथीभाइको देखासिकीका कारण इनर्जी ड्रिङ्क सेवन गर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा यसको सम्भावित जोखिमबारे अभिभावक र विद्यालय तहबाट जनचेतना फैलाउने काम भएको देखिदैन ।  ऊर्जा प्राप्त गर्ने नाममा बालबालिका तथा किशोरकिशोरीले अत्यधिक क्याफिनयुक्त पेय पदार्थ सेवन गर्नु दीर्घकालीन स्वास्थ्यका दृष्टिले उपयुक्त मानिँदैन।

‘एक्सट्रिम’ को संरचनालाई हेर्दा क्याफिन मात्र नभई अन्य विभिन्न सामग्रीको प्रयोग पनि गरिएको विवरण सार्वजनिक भएको छ। यसमा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप, एसिडिटी रेगुलेटरका रूपमा प्रयोग हुने E331 र E330, कृत्रिम रङ E150D तथा E104, टाउरिन, विभिन्न फ्लेवर र प्रिजरभेटिभ्सजस्ता सामग्री समावेश रहेको बताइएको छ। यीमध्ये प्रत्येक पदार्थको प्रयोग निश्चित मापदण्ड र स्वीकृत सीमाभित्र हुनुपर्ने हुन्छ। तर, सीमाभन्दा बढी हुँदा एक्सट्रिमले शरीरमा तत्काल ‘ऊर्जा’ दिने जस्तो महसुस गराए पनि स्वास्थमा दीर्घकालीन रुपमा नकारात्मक असर पुर्याउने स्वास्थ क्षेत्रका जानकारहरु बताउँछन्।

विशेषगरी ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक प्रयोगले पेय पदार्थमा चिनीको मात्रा बढाउँछ। नियमित रूपमा उच्च चिनी भएका पेय पदार्थ सेवन गर्दा मोटोपना, दाँतको समस्या तथा टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ। त्यस्तै, कृत्रिम रङ तथा अन्य थपिएका पदार्थको प्रयोग पनि खाद्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डअनुसार हुनुपर्छ। यस्ता सामग्रीको प्रयोगलाई लिएर उपभोक्तामा विभिन्न आशंका उत्पन्न भइरहेका बेला उत्पादक कम्पनीले आफ्नो उत्पादनमा प्रयोग भएका पदार्थ, तिनको मात्रा र स्वीकृतिसम्बन्धी विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको देखिदैन । उत्पादनको स्वाद, रंग र आकर्षण बढाउने उद्देश्यले प्रयोग गरिने सामग्री उपभोक्ताको स्वास्थ्यका लागि हानिकारक बन्दै गएको देखिएको छ ।

अर्कोतर्फ, इनर्जी ड्रिङ्कलाई सामान्य सफ्ट ड्रिङ्क वा तिर्खा मेटाउने पेय पदार्थका रूपमा बुझ्नु पनि उपयुक्त हुँदैन। यस्ता पेय पदार्थमा क्याफिन तथा अन्य उत्तेजक तत्व मिसाइने भएकाले यसको सेवनमा विष जस्तै बन्ने विज्ञहरुको बताउछन् ।

उपभोक्ताको स्वास्थ्य र सुरक्षाप्रति जिम्मेवार हुनु कुनै पनि खाद्य तथा पेय पदार्थ उत्पादकको आधारभूत दायित्व हो। आफ्नो उत्पादनमा कति क्याफिन छ, त्यसको सेवन कसका लागि उपयुक्त छ, दैनिक सेवनमा के(कस्ता सावधानी अपनाउनुपर्छ र सम्भावित जोखिम के हुन् भन्ने विषयमा स्पष्ट जानकारी दिनु कम्पनीको जिम्मेवारीभित्र पर्छ। विज्ञापनमा ऊर्जा, ताजगी र सक्रियताको सन्देश प्रवाह गरिरहँदा त्यससँग जोडिएका स्वास्थ्यसम्बन्धी सावधानीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ।

क्षणिक ऊर्जा, स्वाद र बजारको आकर्षणले उपभोक्तालाई उत्पादनतर्फ तान्न सक्छ तर त्यसको असर शरीरले भोग्नुपर्ने हुन्छ। विशेषगरी उच्च क्याफिनयुक्त पेय पदार्थको नियमित तथा अनियन्त्रित सेवनलाई सामान्य बानीका रूपमा विकास हुन दिनु स्वास्थ्यका दृष्टिले उचित हुँदैन । नाफा र प्रचारको प्रतिस्पर्धामा मानव स्वास्थ्यलाई जोखिममा पार्ने काम एक्सट्रिमबाट हुँदै गएको छ ।

यो पनि

‘एक्सट्रिम’ इनर्जी ड्रिङ्क स्वास्थ्यका लागि जोखिमपूर्ण, एउटै क्यानमा १८९ मिलिग्राम क्याफिन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*