शेयर बजारमा अनिश्चितता कायमैः नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै, किन राताम्य मार्केट ?

११ मंसिर २०८३, शुक्रबार १५:०४

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । पछिल्लो समय बजारले स्पष्ट दिशा समात्न नसक्दा कारोबारमा सामान्य अंकको उतारचढाव मात्रै सीमित हुँदै आएको छ । कहिले केही अंकले बढ्ने त कहिले सामान्य अंकले घट्ने प्रवृत्तिले बजारमा अन्योल सिर्जना गरेको छ । उल्लेख्य सुधार वा ठूलो गिरावट दुवै नदेखिएको अवस्थामा लगानीकर्ताले बजारको आगामी दिशा अनुमान गर्न कठिन भइरहेको छ । यही अनिश्चितताका कारण नयाँ लगानीकर्ता बजार प्रवेश गर्न हिचकिचाइरहेका छन् भने बजारमा पहिलेदेखि सक्रिय रहेकाहरू पनि थप लगानी गर्ने कि आफ्नो लगानी सुरक्षित राख्ने भन्ने द्विविधामा छन् ।

चाडपर्वपछि वित्तीय प्रणालीमा तरलता बढ्ने, आर्थिक गतिविधि विस्तार हुने र त्यसको सकारात्मक प्रभाव पूँजी बजारमा पर्ने अपेक्षा गरिएको थियो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून रहनु, कर्जाको लागत घट्नु र अर्थतन्त्रका केही सूचकमा सुधार देखिनुले शेयर बजारलाई गति दिने अनुमानसमेत गरिएको थियो । तर, यी अनुकूल परिस्थितिका बाबजुद बजारमा अपेक्षित उत्साह आउन सकेको छैन । अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकबाट पूँजी बजारलाई सहज बनाउने प्रयास भइरहे पनि त्यसको प्रभाव लगानीकर्ताको व्यवहार र कारोबारको आकारमा स्पष्ट रूपमा देखिएको छैन ।

बजारप्रतिको विश्वास कमजोर हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धानले पनि भूमिका खेलेको देखिन्छ । अवैध सम्पत्ति र त्यसको स्रोत पहिचान गर्ने सरकारी अभियान अघि बढेसँगै लगानीको स्रोतबारे प्रश्न उठ्न सक्ने आशंकाले केही लगानीकर्ता सतर्क बनेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा स्वच्छ लगानीलाई प्राथमिकता दिने विषयमा दिएको अभिव्यक्तिपछि विशेषगरी ठूला लगानीकर्तामा थप सावधानी देखिएको छ । यसले बजारमा नयाँ लगानी भित्र्याउनेभन्दा पनि उपलब्ध पूँजी सुरक्षित राख्ने र जोखिम कम गर्ने मानसिकता बलियो बनाएको छ । यद्यपि, स्वच्छ लगानीलाई प्रोत्साहन गर्ने नीतिलाई दीर्घकालमा बजारको पारदर्शिता र विश्वसनीयतासँग जोडेर पनि हेर्नुपर्ने हुन्छ ।

यसका साथै, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थाले पनि लगानीकर्ताको अपेक्षालाई साथ दिन सकेको छैन । कम्पनीहरूको नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ र लाभांश वितरण क्षमतामा अपेक्षित सुधार नदेखिँदा लगानीको आकर्षण कमजोर बनेको छ । बजारमा लगानी गर्नेहरूका लागि कम्पनीको वित्तीय अवस्था र भविष्यको व्यावसायिक सम्भावना महत्त्वपूर्ण आधार हुन् । तर, कतिपय कम्पनीबाट अपेक्षाअनुसार लाभांश घोषणा नहुनु र वित्तीय विवरणमा उत्साहजनक प्रगति नदेखिनुले लगानीकर्तालाई नयाँ निर्णय लिन निरुत्साहित गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५७ अकंले घटेर २६२८.१७ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड४७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक र निर्जीवन बीमा समूहको शेयर मूल्य मात्रै सामान्य सुधार देखिएको हो ।

शुक्रबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । १७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*