जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परे सेवाग्राहीलाई हैरानी दिने सात बिचौलिया

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसरबाट सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको भन्दै जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूलाई मंसिर १० गते दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ घर भई सोही स्थानमा बस्ने ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानोभर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यस्तै, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौंको शंखमुल बस्ने ५७ वर्षीय स्वयंकृष्ण निरौला पनि पक्राउ परेका छन्।











