कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध डेढ लाख घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख (करार इन्जिनियर) प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार चौधरीले आफ्नो पदको दुरुपयोग गर्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिई कमिसन तथा घुस मागेका थिए । भुक्तानीका क्रममा अनुचित लेनदेन भएको, ह्वाट्सएपमा कुराकानी भएको तथा मोबाइल बैंकिङमार्फत रकम पठाइएको प्रमाणसहित उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा चौधरीले सेवाग्राहीबाट कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उनले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ फोनपेमार्फत आफ्नो बैंक खातामा लिएका थिए ।
आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो ।
उक्त बिगो बराबरको जरिवाना तथा कसुरअनुसार कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।











