नेप्सेले मार्जिन कारोबारको विवरण दैनिक सार्वजनिक गर्ने, वेबसाइटबाटै हेर्न सकिने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने भएको छ। यसका लागि नेप्सेले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदै आएका ब्रोकर कम्पनीहरूलाई कारोबारको विवरण निर्धारित ढाँचामा नियमित रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
नेप्सेद्वारा जारी सूचनाअनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०८२ को परिच्छेद–८ को दफा २१ मा रहेको सूचनासम्प्रेषणसम्बन्धी व्यवस्थाबमोजिम यस्तो व्यवस्था लागू गरिएको हो।
उक्त व्यवस्थाअनुसार कारोबार सदस्यहरूले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण अनुसूची–४ मा तोकिएको ढाँचामा कारोबार भएको अर्को कारोबार दिनको मध्याह्न १२ बजेसम्म नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ। नेप्सेले प्राप्त विवरणलाई अनुसूची–५ मा उल्लेखित ढाँचाअनुसार अर्को कारोबार दिनसम्म आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नेछ।
नेप्सेका अनुसार कारोबार सदस्यहरूले उपलब्ध गराएको विवरणलाई एकीकृत गरी वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ। यससँगै आगामी सातादेखि लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको एकीकृत विवरण नेप्सेको आधिकारिक वेबसाइटबाट हेर्न सक्नेछन्।











