सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वस्तरीय प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड प्राप्त गरेको छ। संयुक्त अधिराज्य (युके) को द फाइनान्सियल टाइम्सले डिसेम्बर ४ मा लण्डनमा आयोजना गरेको समारोहमा सिटिजन्स बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले अवार्ड ग्रहण गरेका थिए। कार्यक्रममा १०० भन्दा बढी देशका बैंकका अधिकारीसहित करिब ३०० जनाको उपस्थिति रहेको थियो।
बैंकका अध्यक्ष पाण्डेले उक्त सम्मान प्राप्त गर्नु गर्वको विषय भएको बताउँदै यसले बैंकलाई आगामी दिनमा थप प्रविधिमैत्री र उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत पोखरेलले अवार्ड प्राप्ति बैंकका कर्मचारीको मेहनत र सरोकारवाला निकायहरूको सहकार्यको परिणाम भएको उल्लेख गरे। उनले सुशासन, हरित बैंकिङ्ग र प्रुडेन्ट बैंकिङ्गमा थप ध्यान केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे।
द फाइनान्सियल टाइम्सले हरेक वर्ष विभिन्न देशका बैंकहरूको कार्यसम्पादन र गतिविधि मूल्यांकन गरी ‘बैंक अफ द ईयर’ अवार्ड प्रदान गर्दै आएको छ। यो अवार्ड प्राप्त बैंकहरूको सूची द बैंकर म्यागजिनमा प्रकाशित गरिन्छ।
सिटिजन्स बैंकले हालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ। यस कार्डमार्फत भौतिक कार्डको आवश्यकता बिना नै मोबाइलबाट स्क्यान गरी क्रेडिट कार्ड सुविधा उपयोग गर्न सकिन्छ।
यस बैंकले ६० जिल्लाका १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।












