तीन महिनामा लघुवित्तले कमाए २ अर्ब १३ करोड नाफाः ८ कम्पनीको १० करोडमाथि, अझै ७ संस्था ऋणात्मक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा सामान्य वृद्धि भएको छ। असोज मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका ४८ वटा लघुवित्त वित्तीय संस्थाले कुल २ अर्ब १३ करोड ३८ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा १.४४ प्रतिशत अर्थात् ३ करोड ३ लाख ४१ हजार रुपैयाँले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी संस्थाहरूले २ अर्ब १० करोड ३४ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए।
नाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा रहँदा डेप्रोक्स लघुवित्त दोस्रो र जीवन विकास लघुवित्त तेस्रो स्थानमा रहेका छन्। छिमेकले समीक्षा अवधिमा २७ करोड ३३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिमा कमाएको २६ करोड ९० लाख २ हजार रुपैयाँभन्दा १.६२ प्रतिशत बढी हो।
त्यस्तै, डेप्रोक्सले २१ करोड ९९ लाख ३० हजार रुपैयाँ र जीवन विकासले २० करोड १५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नाफाका आधारमा चौथो स्थानमा रहेको नेसनल लघुवित्तले १९ करोड ५ लाख २८ हजार रुपैयाँ कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा ३२.०५ प्रतिशतले बढेको हो। त्यस्तै, साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख १५ हजार रुपैयाँ नाफा कमाए पनि गत वर्षको तुलनामा १९.६४ प्रतिशतले घटेको छ। निर्धन उत्थान लघुवित्तले ११ करोड ५४ लाख ६० हजार रुपैयाँ कमाउँदा यसको नाफा ८.४९ प्रतिशतले घटेको छ। एनआईसी एसिया लघुवित्तले ११ करोड ११ लाख ४१ हजार रुपैयाँ र सूर्योदय वोमी लघुवित्तले १० करोड ८४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
मेरो माइक्रोफाइनान्सले ८ करोड ६६ लाख २३ हजार रुपैयाँ नाफा कमाउँदै अघिल्लो वर्षको घाटाबाट नाफामा फर्किएको छ। स्वारोजगार लघुवित्तले ७ करोड ३१ लाख ९८ हजार, ग्लोबल आइएमई लघुवित्तले ६ करोड ७१ लाख २ हजार र स्वावलम्बन लघुवित्तले ६ करोड ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यसैगरी, एनएमबी लघुवित्तले ५ करोड ९७ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ।
मातृभूमि लघुवित्तले ४ करोड ५७ लाख ७ हजार, महिला लघुवित्तले ४ करोड ३७ लाख २९ हजार र मिथिला लघुवित्तले ४ करोड ३४ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
तर, सबै लघुवित्त संस्थाहरू नाफामा रहन सकेका छैनन्। समीक्षा अवधिमा समता घरेलु लघुवित्त २५ लाख २६ हजार रुपैयाँ घाटामा गएको छ। सामुदायिक लघुवित्तले ६७ लाख ४१ हजार र जनउत्थान सामुदायिक लघुवित्तले १ करोड ७ लाख ३ हजार रुपैयाँ खुद घाटा बेहोरेका छन्। आरम्भ चौतारी लघुवित्तको घाटा २ करोड ३५ लाख ६३ हजार रुपैयाँ पुगेको छ भने नेरुडे मिर्मिरे लघुवित्त २ करोड ७९ लाख ९९ हजार रुपैयाँ घाटामा रहेको छ। विजय लघुवित्तले पनि ६ करोड ६९ लाख ८६ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ। त्यस्तै, सीवाईसी नेपाल लघुवित्तको घाटा ७ करोड ४४ लाख ६८ हजार रुपैयाँ रहेको छ।











