सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (विवरणसहित)

काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको लाभांश वितरणमा राष्ट्र बैंकले गरेको कडाई कारणका लाभांश क्षमता भएका लघुवित्तले समते १५ प्रतिशतभन्दा बढी वितरण गर्न पाएका छैनन् । जसका कारण अधिकांश लघुवित्त कम्पनीमा लगानी गरेका लगानीकर्ताहरु रुष्ट बनेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका लघुवित्त संस्थाहरुमध्ये १८ वटाले गत आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् । जसमा पाँच वटा कम्पनीहरुले आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई कुनै पनि किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।
लाभांश घोषण गरेका लघुवित्तमध्ये ६ वटाले १५ प्रतिशत र चार वटा लघुवित्तले १४ प्रतिशतका दरले लाभांश घोषणा गरेका छन् । यस अवधिसम्ममा छिमेक लघुवित्तले ८ प्रतिशत बोनश र ७ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, स्वावलम्बन लघुवित्त, नेशनल र आशा लघुवित्तले १४.२५ प्रतिशत बोनश र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । साथै, मिथिल्ला लघुवित्तले १४.२९ प्रतिशत बोनश र ०.७१ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको सूचनाका आधारमा
गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनश र ०.७५ नगद, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनश र ०.७४ प्रतिशत नगदसहित १४.७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सपोर्ट माइक्रोफाइनान्सले कुल १४.५१ प्रतिशत, साना किसान लघुवित्तले कुल १४ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सले १४ प्रतिशत, आरएसडिसी लघुवित्तले १० प्रतिशत, फस्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशत र सूर्योदय वोमी लघुवित्तले कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लाभांश घोषणा भएका कम्पनीहरुमध्ये कतिपयले साधारण सभा प्रयोजनको लागि बुकक्लोज गरिसकेका छन् भने अधिकांश लघुवित्तहरुले बुकक्लोज गर्न बाँकी रहेको छ । तसर्थ केही लाभांश घोषणा गरेका लघुवित्तहरुको शेयर खरिद गरी प्रतिफल प्राप्त गर्न सकिन्छ ।
संस्थाहरुले घोषणा गरेको उक्त लाभांश लघुवित्तहरुको आउँदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट पारित भएपश्चात लगानीकर्ताहरुले पाउँने प्रावधान रहेको छ ।













