पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने, कुनको कति ?

काठमाडौं । पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।
बुटवल पावर कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन्।
यीमध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २०६ दशमलव ३ मा एफपीओ निष्कासन गर्नका लागेको हो भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै जारी गर्न सेबोनमा निवेदन दिएका हुन्।
बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन हो। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ। यसभन्दा अगाडि २०७४ माघमा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो।
त्यस्तै नेशनल लघुवित्तले ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो। यस कम्पनीको बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।
त्यस्तै विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता,विन नेपाल लघुवित्तले ५१ हजार २९३ कित्ता र स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन्।
स्वरोजगार र विजय लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ भने विन नेपाल लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।
कुनै कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पुँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्छन्।
कतिपय कम्पनीहरूले भने सेयर संरचना मिलाउनका लागि पनि एफपीओ निष्कासन गर्ने गरेको पाइन्छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीको कुल चुक्ता पुँजीको ७० प्रतिशत सेयर संस्थापकतर्फ र ३० प्रतिशत सेयर सर्वसाधारणतर्फ हुनुपर्ने प्रावधान छ।












