सूचीकृत २७ कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश, कुनले कति दिदैछन् ? (सूचीसहित)

१२ पुष २०८१, शुक्रबार १४:४४

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार साधारणसभा बोलाइसकेका छन् । साधारणसभाबारे जानकारी गराउँदा कम्पनीहरुले बुक क्लोजको मिति पनि स्पष्टसँग उल्लेख गरेका हुन्छन् ।

बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड गरेका वा खरिद गरेका लगानीकर्ता लाभांशका लागि र साधारणसभामा भाग लिन हकदार हुन्छन् । सार्वजनिक सूचनाअनुसार अझै पनि २७ कम्पनीको सेयर खरिद गर्नेले लाभांश पाउने छन्।

बढेको सेयर संख्याअनुसार बुक क्लोजका दिन मूल्य समायोजन हुन्छ । तसर्थ लाभांश पाउनका लागि बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड वा खरिद गरेको हुनुपर्छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई साधारण सभामा प्रतिफल स्वरुप लाभांश वितरण गर्ने प्रस्तावहरु पेश गरेका छन् ।

बैंक, विकास बैंक र फाइनान्सको प्रस्तावित लाभांश

बैंक, विकास बैंक र फाइनान्ससहितका १० वटा कम्पनीहरुको शेयर खरिद गर्दा प्रस्तावित लाभांश पाइन्छ । यी कम्पनीहरुको बुकक्लोज हुन बाँकी रहेको छ । जस कारण यी कम्पनीहरुको शेयर खरिद गर्दा लाभांश पाइने बाटो खुल्ला रहेको छ ।

कृषि विकास बैंकको शेयर खरिद गर्दा ३ प्रतिशत बोनश र ७.५३ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् । बैंकले वार्षिक साधारणसभा प्रयोजनार्थ पुष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । साथै, लक्ष्मी सनराइज बैंकको पाँच प्रतिशत बोनश र ०.२६ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् । बैंकको बुकक्लोज मिति पुष १७ गते रहेको छ ।

लुम्बिनी विकास बैंकले घोषणा गरेको ३ प्रतिशत बोनश र ४ प्रतिशत नगद लाभांश प्राप्त गर्नको लागि पुष १८ गतेसम्म शेयर खरिद गर्न सकिने छ । यस बैंकले पुष १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यस्तै, अझै पनि शेयर खरिद गर्ने शेयरधनीहरुले गरिमा विकास बैंकको पाँच प्रतिशत नगद लाभांश, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनश शेयर र ०.३ प्रतिशत नगद लाभांश, सांग्रीला विकास बैंकको ३.६५ प्रतिशत बोनश र ०.१९ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् ।

महालक्ष्मी विकास बैंकले घोषणा गरेको कुल ७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.१० प्रतिशत, आइसीएफसी फाइनान्सको ५.२६ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने भएको छ ।

कम्पनीहरुले प्रकाशित गरेका सूचनाका आधारमा,

माइक्रोफाइनान्स कम्पनीहरुको लाभांश

यस अवधिसम्म नौ वटा माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेर बुकक्लोजको मिति तय गरेका छन् । अझै पनि यी लघुवित्तहरुको शेयर खरिद गरेको अवस्थामा कम्पनीहरुले प्रस्तावित गरेको लाभांश प्राप्त गर्न सकिने अवसर रहेको छ ।

अझै पनि सम्बन्धित कम्पनीहरुको शेयर खरिद गर्ने लगानीकर्ताहरुले आत्मनिर्भर लघुवित्तको १४.९० प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको १५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ८ प्रतिशत, डिप्रोक्स लघुवित्त र कालिका लघुवित्तको १० प्रतिशत लाभांश पाउन सक्नेछन् ।

त्यस्तै, छिमेक लघुवित्तको १५ प्रतिशत, साना किसान लघुवित्तको १५ प्रतिशत, जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत र सूर्योदय वोमी लघुवित्तको ६.९६ प्रतिशत लाभांश पाउने सकिनेछ ।

हाइड्रोपावर कम्पनीको प्रस्तावित लाभांश

यस अवधिमा अधिकांश हाइड्रोपावर कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई निराश बनाएका छन् । केही कम्पनीहरुले मात्र गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल दिदै आएका छन् । यस अवधिसम्म चार वटा हाइड्रोपावर कम्पनीहरुको शेयर खरिद गर्ने लगानीकर्ताहरुले सम्बन्धित बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कालिका पावर कम्पनीले प्रस्ताव गरेको ७.३६ प्रतिशत लाभांश पुष १८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । साथै, बुटवल पावरले पाँच प्रतिशत, चिलिमे हाइड्रोपावरले १२ प्रतिशत र युनाइटेड इदी मर्दीले ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लगानी तथा उत्पादनमूलक कम्पनीको लाभांश

यस उप–सूचकमा कारोबार हुने चार कम्पनीहरुको लाभांश प्राप्त गर्ने अवसर खुल्ला नै रहेको छ । यस अवधिमा नागरिक लगानीकोषको १५ प्रतिशत लाभांश, शिवम् सिमेन्टको नौ प्रतिशत, बोटलर्स नेपाल तराईको ५० प्रतिशत र हिमालयन डिस्टिलरीको २० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*