यो साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५९६।८२ विन्दुमा बन्द भएको नेप्से, यस साता १।३१ प्रतिशत अर्थात ३३।८९ अंक बढेर २६३०।७१ विन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। यस साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से सामान्य अंक घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ५।६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २।३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।७६ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८७ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०।८८ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ३०।६३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ५।९७ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १।३० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५६ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ६३ अर्ब पुगेको छ।
१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २।७३ प्रतिशत बढेको छ। अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन शीर्ष स्थानमा रहेको छ। गत साता ६७११।१५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०६।६६ अंक बढेर ६८१७।८१ विन्दुमा पुगेको छ।
यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४।६९ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। गत साता ५४५८।५९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९२।४८ अंक घटेर ५३६६।११ विन्दुमा झरेको छ।
यस साता सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २५।४२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता न्यादी हाइड्रोपावरको शेयरमूल्य २० प्रतिशतभन्दा बढी बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २० प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक ११।११ प्रतिशत घटेको छ।
फ्लोरसिट विश्लेषण गर्दा यस साता प्रभु बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बरुण हाइड्रोपावर कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड, मानुणी लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।












