बजारमा झिनो सुधारः लगानीकर्ताको मनोबल कमजोर, के नियामकको डन्डाले मार्केट प्रभावित हो ?

काठमाडौँ । पछिल्लो समय बजार सुस्त छ । बजारमा आज सामान्य सुधार देखिएपनि लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । जसले गर्दा कारोबार रकम समेत निरन्तर खस्किदै गएको हो ।
पुँजी बजारमा बजारिया हल्लाले प्रत्यक्ष प्रभावित बन्दै आएको छ । नियामक निकायले पछिल्लो समय देखिएको सक्रियताले माफिया लगानीकर्ता डराउँदा बजार ओरालो लागेको आंकलन हुँदै आइरहेको छ । हालै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमाथि कारबाही गरेपछि बजारमा थप अस्थिरता आएको हो। यसका साथै, फाइनान्स समूहमा देखिएको ठूलो गिरावटले पनि लगानीकर्ताहरूको विश्वासमा कमी ल्याएको छ, जसले बजारलाई थप कमजोर बनाएको छ। विश्लेषकहरूले यसलाई अन्य फाइनान्स कम्पनीहरूसँग जोडेर हेरेका छन्।
यद्यपि, वर्तमान परिस्थितिमा दीर्घकालीन लगानीकर्ताहरूका लागि अवसर बन्न सक्ने संकेत देखिएका छन्। बजार घटेर धेरै कम्पनीका सेयर मूल्यहरू सस्तो भएका छन्। विशेषगरी, वाणिज्य बैंकहरूको सेयर मूल्य कम भएकोले यस क्षेत्रमा लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ। यो अवसरको लाभ लिनका लागि केही लगानीकर्ताहरू सक्रिय भएका छन् भने केही भने अझै पर्ख र हेरको अवस्थामा छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अकंले बढेर २५८६.२३ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ८६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोडको शेयर कारोबार भएको छ ।
यसदिन आठ उपसूचकमा हरियाली देखिएको हो । आज विकास बैंक समूहको २.४० प्रतिशत, फाइनान्स समूहको ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १५६ कम्पनीको शेयर मूल्यमा सुधार आउँदा ७७ कम्पनीको घटेको छ । आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।











